शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीबीच मुठभेडको सम्भावना, बाहिर ननिस्कन अपिल


काठमाडौं – चैत १५ गते देशकै राजधानी काठमाडौंका सडक गणतन्त्रवादी र राजावादीको कब्जामा पर्ने स्थिति देखिएको छ । दुवै पक्षले त्यसदिन आफ्नो प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएकाले पनि परिस्थिति कल्पना गरेभन्दा फरक हुन सक्ने सुरक्षा निकायले अनुमान गरेको छ । राजसंस्थाको माग गर्दै राजावादी समूहले त्यसदिन विशाल प्रदर्शन गर्ने घोषणा गरेका छन् । त्यसको तयारीका लागि उनीहरूले भएभरको शक्ति प्रयोग गरिरहेका छन् ।

विवादास्पद व्यवसायी दुर्गा प्रसाईले बृहत् प्रदर्शनको अगुवाइ गरे पनि त्यसमा पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा बनेको तेस्रो संयुक्त आन्दोलन परिचालन समिति पनि मिसिने भएपछि परिस्थिति अलि पेचिलो बनेको हो । समितिका संयोजक नवराज सुवेदीले प्रदर्शनको अगुवाइ गर्ने निर्णय गरिसकेका छन् । त्यसैले पूर्वराजाका शुभेच्छुक, समर्थक धेरैभन्दा धेरै सडकमा ओर्लिने सम्भावना देखिएको छ । राजावादी समूह राजतन्त्र पुनःस्थापनाको माग गर्दै सडकमा ओर्लिन थालेपछि र पूर्वराजा शाहको सक्रियतासमेत बढेपछि गणतन्त्रवादी शक्तिहरूले पनि त्यसै दिन बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो ।

माओवादी, एकीकृत समाजवादी, नेकपा, नेसपालगायतका दल सम्मिलित समाजवादी मोर्चाको अगुवाइमा प्रदर्शन हुन लागेको हो । मोर्चाले त्यसको दिनको प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएको छ । गणतन्त्रवादी र राजावादी दुवै समूहले एक–एक लाख मानिस राजधानीका सडकमा उतार्ने दाबी गरेका छन् । त्यसैले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्भावित मुठभेडलाई रोक्न मोर्चालाई भृकुटीमण्डप र राजावादीलाई तीनकुने क्षेत्र छुट्याइदिएको छ ।

प्रदर्शन गर्ने स्थल टाढा भए पनि दुवै समूहले जुलुस निकाल्दा मुठभेड हुने हो कि भन्ने आशंका सुरक्षा निकायले गरेको छ । गणतन्त्रवादीभन्दा पनि राजावादी समूह जसरी पनि स्थिति भड्काउन चाहिरहेको देखिएको छ । यसरी स्थिति भड्काउँदा परिस्थिति काबुभन्दा बाहिर जाने र त्यसमा खेल्न सकिने बुझाई राजावादी समूहको रहेको सूचना पाएपछि विदेशी कूटनीतिक नियोगहरूले शुक्रबार सकेसम्म सडकमा ननिस्कन र हिँड्नै परे सतर्कता अपनाउन आफ्ना देशका नागरिक र कर्मचारीलाई आग्रह गरेका छन् ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले १५ गते शुक्रबार काठमाडौँमा ठूला राजनीतिक प्रदर्शनहरू हुने र ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थित हुने सडक अवरूद्ध हुनसक्ने भएकाले त्यो दिन सकेसम्म घरबाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरेको छ । दूतावासले त्यो दिन सावधानी अपनाउन, बाहिरफेरो कम निस्कन, प्रदर्शनबाट प्रभावित क्षेत्र तथा भिडभाडलाई सकेसम्म छल्न र समाचारबाट अपडेट रहन पनि आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । दूतावासले स्थानीय अधिकारीहरूका कफ्र्युसम्मको आदेश दिनसक्ने भएकाले त्यो निर्देशन पालना गर्न पनि अपिल गरेको छ ।