‘एक मन्त्रीका अनुसार नेप्सेको सिइओ नियुक्त’ नारद लुइँटेल हेरेको हे¥यै


काठमाडौं । नेपाली मिडिया कतिसम्म भावुक र आलाकाँच्चा छन् भन्ने पछिल्लो समय एउटा मन्त्रिपरिषदको निर्णय भन्दै आएको समाचारले पुष्टि गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय ग¥यो ।

तर उनलाई पदबाट हटाउने निर्णय भइसकेको थिएन । अर्थात् मन्त्रिपरिषद् बैठकको निर्णय माइन्युट भइसकेको थिएन । तर मिडिया र सामाजिक सञ्जालमा ‘सरकारद्वारा कुलमान घिसिङ बर्खास्त’ भन्दै खबर बाहिरियो । मन्त्रिपरिषद् बैठक सकेर बाहिरिने क्रममा सञ्चारमन्त्री एवं सरकारका प्रवक्तासमेत रहेका पृथ्वी सुब्बा गुरुङले यसबारे थाहा नभएको टिप्पणी गरे । उनले टीआरसी गठन भएको विषयमा संक्षिप्त प्रतिक्रिया दिए । तर अरु बोलेनन् ।

त्यसबेलासम्म कुलमान हटाएको खबर भाइरल भइसकेको थियो । कुलमानसँगै मिडियामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सर्लाहीका नारद लुइँटेलको नियुक्ति भएको पनि खबर भाइरल बन्यो । देशको प्रमुख मिडियादेखि सामाजिक सञ्जालमा नेप्सेले नयाँ सिइओ पाएको समाचारले पिटिसकेको थियो । लुइँटेललाई बधाई र शुभकामना दिनेको ओइरो लाग्यो । उनलाई बधाई थाप्न भ्याइनभ्याइ भयो ।

तर आजका दिनसम्म पनि नेप्सेको नयाँ सिइओ को नियुक्त भयो भन्ने कुरा पुष्टि भएको छैन । मन्त्रिपरिषद बैठकको निर्णयमै नेप्सेको सिइओ नियुक्त भन्ने केही उल्लेख छैन । अहिले उनी आफ्नो नियुक्तिको पुष्टि खोज्न अर्थ मन्त्रालय धाएको धायै छन् । मन्त्रिपरिषद् बैठकमा को नियुक्त भयो, कसलाई नियुक्त गर्ने भन्ने विषय प्रधानमन्त्री र सदस्य सचिव रहेका मुख्यसचिवलाई मात्र थाहा हुन्छ । प्रधानमन्त्रीले भनेको माइन्युट मुख्यसचिवले लेख्ने हो ।

कुलमान घिसिङलाई हटाएको र हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको निर्णय मंगलबार मात्र मन्त्रिपरिषद् बैठकको माइन्युट पुस्तिकामा लेखिएको थियो । तर निर्णय नभए पनि नेप्सेको नयाँ सिइओमा नियुक्त भएको भन्दै लुइँटेलले थापेको बधाई त्यत्तिकै खेर जाने भएको छ । सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । उक्त पदको संक्षिप्त सूचीमा छानिएका पाँचजनालाई चैत ६ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाइएको थियो । सिइओका लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा झापाका चुडामणि चापागाईं, सर्लाहीका नारदकुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका थिए । कुनै एक मिडियाका पत्रकारले ‘एक मन्त्रीका अनुसार नेप्सेको सिइओमा नारद लुइँटेल नियुक्त’ भनी लेखेको समाचार सबैले हुबहु सार्दा नेपाली मिडियाको धोती खुस्किएको हो ।

त्यसैले ब्रेकिङ न्युजको लालसामा समाचार प्रकाशित गर्दा लुइँटेलको हालत हुने निश्चित छ । लुइँटेल २०७८ मा तारागाउँ होटल विकास समितिको सदस्य सचिव नियुक्त भएका थिए । त्यसअघि पनि तारागाउँमा सदस्य सचिव भइसकेका उनले पहिलो कार्यकालमा हायात रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी सरकारी जग्गाको विवरण सार्वजनिक गरी कारबाही अघि बढाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका लुइँटेलले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।