काठमाडौं । नेपालमा जे जति ठूला र चर्चित काण्ड भएका छन्, ती सबै शुक्रबारकै दिन हुने गरेका छन् । नारायणहिटी दरबार काण्ड होस् वा सरकार ढल्ने र बनाउने दिन शुक्रबार नै हुने गरेको छ । त्यसैले पनि नेपालमा शुक्रबारलाई ‘कालो दिन’ मान्ने गरिन्छ ।
संयोग भनौं हो योजनाबद्ध चैत १५ गते शुक्रबार नै परेको छ । भोलिका दिनदेखि फेरि नेपालमा आन्दोलनको श्रीगणेश हुने भएको छ । राजसंस्था पुनःस्थापनाका लागि शुक्रबारबाटै आन्दोलनको शंखनाद हुन थालेको हो । राजावादीले दुर्गा प्रसाईलाई कमान्डर बनाएर संघीयता फाल्ने र संवैधानिक राजसंस्था पुनःस्थापना गर्न चैत १५ गते काठमाडौंमा विशाल प्रदर्शन गर्न लागेका हुन् ।
राजावादीको सक्रियता बढेको भन्दै गणतन्त्रवादीहरूले पनि शक्ति प्रदर्शन गर्न शुक्रबारकै दिन जुराएका छन् । माओवादी, एकीकृत समाजवादी, नेसपा, नेकपालगायतका दलले एक लाख मान्छे सडकमा उतार्ने घोषणासहित शुक्रबार विशाल प्रदर्शन गर्दैछन् । यदि आफ्नो प्रदर्शनमा घुसपैठ भएमा राजावादीलाई लखेट्ने उनीहरूले चेतावनी नै दिएका छन् ।
शुक्रबार नै अहिले ‘टक अफ द टाउन’ मा रहेको कुलमान घिसिङको मुद्दाको सुनुवाइ हुने भएको छ । सरकारले आफूलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै कुलमानले बुधबार सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिट बिहीबार दर्ता भई शुक्रबार नै पेसी तोकिएको छ । शाक्यले पनि आफूले हालेको पहिलेको मुद्दाको छिनोफानो हुनुपर्ने भन्दै बिहीबार नै रिट दर्ता भई शुक्रबार सुनुवाइ हुने भएको छ ।
घिसिङ र शाक्य दुवै रिट निवेदन लिएर बुधबार सर्वोच्च अदालत पुगेकामा बिहीबार दर्ता भएको हो । सरकारले गैरकानूनी रुपमा हटाएको दाबी गरेर पुनस्र्थापना हुनुपर्ने बताउँदै घिसिङले अन्तरिम आदेश माग गरेर रिट हालेका छन् । शाक्यले सर्वोच्चमा न्याय मागेको, तर त्यसमा फैसला नभएका कारण आफूले यसबीचमा पाउनुपर्ने सेवासुविधासमेत पाउनुपर्ने माग राखेका छन् । यदि कुलमानको रिटमा सुनुवाइ भई उनलाई नहटाउन अन्तरिम आदेश दिएमा उनका समर्थकले सरकारविरुद्ध जुलुस निकाल्ने निश्चित छ । यदि त्यसो भएमा प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दिपक खड्कामाथि नैतिक संकट पर्नेछ ।
प्रतिक्रिया