काठमाडौँ – पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो वैचारिक लाइन क्लियर गरेका छन् । नेपाल प्रहरीबाट अवकाश पाएलगत्तै एमाले प्रवेश गरेर दुईपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको टिकट फुत्काउन सफल खनाल राजावादी कित्तामा प्रवेश गरेका छन् । औपचारिक रूपमा उनले आफू राजावादी दल वा समूहमा प्रवेश गरेको नबताए पनि राजावादी समूहमा रहेका व्यक्तिहरूको कित्तामा रहेर संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
खनालले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू अबदेखि एमालेसँग अलग भएको भन्दै स्वतन्त्र रहेको उल्लेख गरेका थिए । राजावादीहरूले शुक्रबार राजधानीमा बृहत् जनप्रदर्शन गर्नुअघि बिहीबार साँझ पूर्वआईजीपी खनालसहित २८ जनाले वर्तमान शासन व्यवस्थाको विरोध गर्दै आफ्नो लाइन स्पष्ट पारेका छन् ।
विज्ञप्ति जारी गर्नेमा भाष्करराज राजकर्णिकार, विनोदबहादुर श्रेष्ठ, भवानी राणा, युवराज घिमिरे, सर्वेन्द्र खनाल, कुशकुमार जोशी, टीकाराम यात्री, स्वागत नेपाललगायत छन् । उनीहरूले वर्तमान व्यवस्था र व्यवस्थापनप्रति जनतामा रहेका गुनासा र त्यसको सुधारका लागि जनता उठाएका आवाजप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई अहिंसात्मक र शान्तपूर्ण बनाउन आग्रह गरेका छन् । उनीहरूले आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकार पक्षबाट यथाशीघ्र वार्ता र सहमतिका लागि आह्वान गर्न भनेका छन् ।
जनताका शान्तिपूर्ण आवाज र मागविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्नसमेत उनीहरूले अनुरोध गरेका छन् । खनाल तिनै व्यक्ति हुन् जोशी आईजीपीबाट हटेलगत्तै जसपाका सांसदलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएर मेरियट होटलमा राखेको उनीमाथि आरोप लागेको थियो । खनालको परिवार कांग्रेसी हो ।
प्रहरीमा रहँदा कांग्रेसी नेताहरूको वैशाखी टेकेर उनी प्रमोसन हुँदै आइजीपी बन्न सफल भएका थिए । तर प्रहरी सेवाबाट रिटायर्ड भएपछि उनी एमाले प्रवेश गरे । एमालेले उनलाई तनहुँ र बाराबाट प्रतिनिधिसभामा उम्मेदवार बनाएको थियो । आफ्नो जीवन नै एमालेमा बिताएका नेताहरुको टिकट खोसेर उम्मेदवार बन्न सफल खनाल चुनावमा भने पराजित भए । जनताले नपत्याएपछि अहिले उनी राजावादीको दौराको फेर समाउन पुगेका छन् ।
प्रतिक्रिया