काठमाडौं – आफूलाई संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनाको हिमायती र पक्षधर बताउँदै आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसामु पुड्को बनेका छन् । प्रसाईले लिङ्देन र थापाको एजेन्डा नै ‘हाइज्याक’ गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले समेत राजसंस्था पुनःस्थापनाका लागि आन्दोलनको कमान्डर प्रसाईलाई बनाउनुले पनि अब राप्रपा र राप्रपा नेपालको औचित्य सकिएको विश्लेषण हुन थालेको छ । प्रसाई ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को नाममा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्न लागिपरेका छन् ।
सुरुमा कांग्रेस, माओवादी, एमाले हुँदै अहिले प्रसाई राजाको एजेन्डा बोक्न आइपुग्नुलाई उनले विभिन्न बैंकसँग लिएको ऋणबाट मुक्ति पाउन भन्दै उनको आलोचना हुने गरे पनि दुई चार हजारको भिड सडकमा उतार्न उनी सफल भइसकेका छन् । एउटा व्यक्तिले भन्दै यत्रो मास देशव्यापी रूपमा उतार्न सक्नु चानचुने खुबी होइन । त्यसमा पनि राजसंस्थालाई बोकेर पटकपटक ‘तर’ मार्दै आएका एक से एक राजावादीलाई पछाडि पार्दै प्रसाई पूर्वराजा शाह र उनका समर्थकको प्यारो बनेका छन् । यसलाई धेरैले उनको राजनीतिक सफलता मानेका छन् ।
दरबारले झन्डै चार दशक राजावादी आन्दोलनको ग्रिपभन्दा बाहिर रहेका ८६ वर्षीय वृद्ध नवराज सुवेदीलाई अघि बढाएपछि लिङ्देन र थापा सशंकित बनेका छन् । गत चैत ४ गते सुवेदीको नेतृत्वमा तेस्रो संयुक्त जनआन्दोलन समिति बन्यो । लिङ्देन र थापा दुबै सदस्य थिए । तर, उनीहरूले समितिमा आफू नरहने घोषणा गरे । उनीहरूले समितिले गर्ने आन्दोलनमा नैतिक तथा भौतिक समर्थन रहने घोषणा गरेका छन् ।
यस मानेमा उनीहरूलाई खाउँ भने दिनभरिको सिकार, नखाउँ कान्छा बाउको अनुहार भनेजस्तो भएको छ । प्रसाईले पनि अब लिङ्देन र थापाको उपादेयता सकिएको बताएका छन् । थापा र लिङ्देन आफूभन्दा सिनियर भए पनि राजनीतिक रूपमा फेलियर भइसकेको उनको दाबी छ । लिङ्देन र थापाले पूर्वराजा शाहलाई पटक–पटक झुक्याएका कारण आफू यो व्यवस्थाविरुद्ध बाध्य भएर आउनु परेको उनको भनाइ छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही राजसंस्था पुनः स्थापनाका लागि इमानदार नरहेको प्रसाईले हाकाहाकी बताउने गरेका छन् । यसले पनि उनलाई पूर्वराजासँग नजिक बनाउँदै लगेको धेरैको अनुमान छ ।
प्रतिक्रिया