राजावादी समूह बानेश्वरतिर अघि बढ्न थालेपछि तीनकुने तनावग्रस्त, अश्रुग्यास प्रहार


काठमाडौं । राजावादी समूह सुरक्षा घेरा तोडेर नयाँ बानेश्वरतिर अघि बढ्न थालेपछि तीनकुने क्षेत्र तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

आफूहरूलाई भने चक्रपथ एरियामा मात्र सीमित गर्न खोजिएको भन्दै राजावादी समर्थक आक्रोशित भएका छन् । उनीहरू जतिबेला पनि उत्तेजित भई सहरका भित्री सडकमा प्रवेश गरेमा गणतन्त्रवादीहरुसँग मुठभेड हुनसक्ने आशंका गरिएको छ । दुर्गा प्रसाईले नेतृत्व गरेको जुलुस भक्तपुरबाट आएपछि निषेधाज्ञा तोडिने राजावादीहरुको भनाइ छ । शुक्रबार बिहान प्रहरीले निषेध गरेको क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जान खोजेपछि राजावादी प्रदर्शनकारी र प्रहरीबीच सामान्य धकेलाधकेल भएको थियो ।

उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । राजावादी समर्थकले प्रहरीको सुरक्षा ब्यारियर फाल्न निकै जोडबल गरेका थिए । तर प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए । अहिले फेरि स्थिति तनावग्रस्त भएको छ ।