राजावादीको आन्दोलन नियन्त्रण बाहिर, स्थानीयको घरमा लगाइयो आगो


काठमाडौं – राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रदर्शन नियन्त्रण बाहिर गएको छ । राजावादीहरू स्थानीय प्रशासनले निर्धारण गरेको तीनकुने क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको हो ।

जसकारण प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फालेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । उनीहरूले सडकका स्थानीयका घरसमेत तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले स्थानीयको तीनवटा घरमा आगो लगाइदिएका छन् । झन्डै दुई घन्टादेखि तीनकुनेको स्थिति तनावग्रस्त बनेको छ । सार्वजनिक स्थल तोडफोडका साथै स्थानीयको घरसमेत आगो लगाइएपछि वरपरका मानिस आक्रोशित भएका छन् ।