लोकतन्त्रमाथिको प्रहार सञ्चार जगतले स्विकार्दैनः ऋषि धमला


लोकतन्त्रमाथिको प्रहार सञ्चार जगतले स्विकार्दैनः ऋषि धमला
रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष, वरिष्ठ पत्रकार ऋषि धमलाले लोकतन्त्रमाथिको प्रहार नेपाली सञ्चार जगतले स्विकार नगर्ने बताएका छन् । आज (शनिबार) पत्रकार महासंघले माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए । नेपाली सञ्चार जगतले लोकतन्त्रमा सबैले विचार राख्न पाउनुपर्छ भनेर राजावादीहरुलाई पनि स्थान दिएको पनि उनले बताए ।

‘हामीले राजावादीहरुलाई पनि ठाउँ दिएका थियौं । किनभने लोकतन्त्रमा सबैले विचारहरु राख्न पाउनुपर्छ । तर, लोकतन्त्रमाथिको प्रहार सञ्चार जगतले स्विकार्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । राजसंस्था हुन सक्दैन । राजावादीहरुको त्यो दिवास्वप्न छ भने आजैबाट त्याग्न म आग्रह गर्न चाहन्छु,’– पत्रकार धमलाले भने ।

साथै, नेपाली सञ्चार जगतलाई आक्रमण गरेर चाहना पूरा हुन्छ भन्ने दिवास्वप्न त्याग्न उनले राजावादीहरुलाई आग्रह गरे । पत्रकार धमलाले नेपाली सञ्चार जगतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई घुँडा टेकाएको पनि स्मरण गरे । धमलाले सञ्चार क्षेत्रको सुरक्षाको जिम्मेवारी लिन सरकारलाई आग्रह गरे ।

हिजो (शुक्रबार) भएको राजावादी समूहको प्रदर्शनमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा आज महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।