काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक आज साँझ ७ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ ।
सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बसेको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा उनले यसबारे जानकारी दिएका हुन् । राजावादीको हिंसात्मक आन्दोलनमा शुक्रबार तीनकुनेमा दुईजनाको मृत्यु भएको थियो । आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा प्रहरीले राप्रपा वरिष्ठ उपसभापति रवीन्द्र मिश्र र महामन्त्री धवदशमशेर राणालाई पक्राउ गरेको छ ।
शनिबारको राप्रपा कार्यसम्पादन समितिको बैठकले मिश्र र राणालाई रिहा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको थियो । नत्र त्यसकै जगमा राजसंस्था पुनःस्थापनाको आन्दोलन अघि बढाउने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएका हुन् ।
साथै, बैठकमा प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले राखेका मागका विषयमा सम्बोधन गर्ने भएकाले त्यसबारे छलफल गरिने भएको छ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने अडान राखेका छन् ।
प्रतिक्रिया