इमाडोलमा स्याउ र केरा सुन्तला खाएर हिँडेका दुर्गा प्रसाई आफैं भागे कि भगाइए ?


काठमाडौं । राजसंस्था पक्षधरहरूको आन्दोलनको कमान्डर बनेका दुर्गा प्रसाईँ यत्रो राज्य संयन्त्रलाई चक्मा दिएर शुक्रबारदेखि बेपत्ता भएका छन् । राजा ल्याउँछु भनेर आफैंले गाडी चलाएर सुरक्षाकर्मीको हत्या प्रयास गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजी गर्दै आएको थियो ।

उनी शुक्रबार दिनभर तीनकुने क्षेत्रमा सटरभित्र लुकेर बसी राति इमाडोल बास बसेका थिए । शनिबार बिहान विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा स्याउ र केरा खाएर मोबाइल स्विच अफ गरी हिँडेका प्रसाई कहाँ छन् भन्ने पत्तो प्रहरीले लगाउन सकेको छैन । खतिवडा भने भाग्ने क्रममा शनिबार नै समातिएका थिए ।

प्रसाईँकै अगुवाइमा शुक्रबार तीनकुने क्षेत्रमा तोडफोड, लुटपाट, आगजनी मात्र भएन दुईजनाको मृत्युसमेत भयो । आगजनी र तोडफोडका लागि आन्दोलनकारीलाई उक्साएका प्रसाईँलाई त्यसै दिनदेखि प्रहरीले खोजी गरिरहेको छ । प्रदर्शनमा संलग्न भई नेतृत्व गर्ने राप्रपा नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो । मिश्र र राणामाथि अनुसन्धान अघि बढाउन प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा म्याद थप प्रक्रिया अगाडि बढाएको छ ।

प्रसाईँ काठमाडौं बाहिर पुगेको अनुमान प्रहरीले गरेको छ । गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रलाई निगरानी बढाउनसमेत निर्देशन दिएका छन् । अहिलेसम्म प्रसाईँ पक्राउ नपर्दा सरकारले नचाहेको हो वा सुरक्षा निकायको सूचनाको अभाव हो ? भन्नेमा चासो बढेको छ ।

कतिपयले भने सरकारले तत्काल प्रसाईँलाई पक्राउ गर्न नचाहेका कारण उनी फरारजस्तो देखिएको टिप्पणी गरिरहेका छन् । प्रसाईले विभिन्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण आठ अर्ब पुगिसकेकाले पनि उनलाई तत्काल पक्राउ गर्न प्रहरी प्रशासनले चासो नदेखाएको बताइएको छ । तर नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले प्रसाईको खोजीकार्य जारी रहेको, तर हालसम्म पक्राउ भने नपरेको बताए ।