काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निलम्बित सांसद पद फुकुवाका लागि मंगलबार सभामुख देवराज घिमिरेलाई भेटे । पार्टीका अन्य सांसदसहित संसद् सचिवालय पुगेर उनले सभामुखलाई आफ्नो सांसद पद फुकुवा गरिदिन आग्रह गरे । तर सभामुखले संसदको नियमावली देखाएर तत्काल कुनै सम्भावना नरहेको जवाफ दिए ।
सभामुखसँग भेटेर बाहिरिएपछि रविले सरकारकै कारण आफ्नो सांसद पद निलम्बन भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सभामुख घिमिरेसँग सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाए ।
लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको बताए । उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् भएकाले संसद्मा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको पनि बताए । संसद्को विषय संसदबाटै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको उनको भनाइ थियो ।
‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् नै हो। सदनको यो सत्रको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्यूलाई निवेदन नै दिएको थिएँ। अदालतको ढोकामा पुऱ्याइएको मुद्दाका आधारमा निलम्बन हुनुहुँदैन भनेर कानुनी कुरा राखेको थिएँ। एउटा मान्छे सधैँ अदालत नै जाने, सधैँ झगडा नै गर्ने भन्ने हुँदैन।
पहिलो संसद्को विषय संसदबाटै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो। म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ,’ रविले भने ।
उनले पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको दाबी गरे । ‘मैले सकेसम्म कानुनी प्रक्रियाहरू टुङ्गिउन्, मुद्दा कहाँ लगाउने हो लगाओस्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हुँ। अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ। तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुन्ड्याइरहेको छ।
मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन। सबै थाहा छ, जगजाहेर छ। सरकार ‘छोपेका छौँ’ भन्छ, हामी नांगो देखिरहेका छौँ। सरकार ‘छोपेँ’ भन्छ, यही तीनकुनेले छोपेको जस्तो। नांगो भइसक्यो, देखिएको छैन,’ रविले भने ।रविलाई काठमाडौं, कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर रविले जिल्लाको आदेश बदर गरीपाउँ भनी उच्च अदालतमा निवेदन दिएका छन् ।
प्रतिक्रिया