स्टाटसकै कारण आफूले खनेको खाल्डोमा बालेन



काठमाडौं – ‘अर्कालाई खनेको खाल्डोमा पहिले आफैं परिन्छ’ भन्ने नेपाली उखान चर्चित छ । अहिले यही उखान काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनको हकमा लागू भएको छ । गत चैत ११ गते बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु ! त्यो पछि हेरौँला तिमीहरुको के के तन्त्र हो !’ चार लाख ७६ हजारले लाइक गरेको यो स्टाटसमा ८७ हजारले कमेन्ट गरेका छन् । २९ हजारले सेयर गरेका छन् ।


नेपाली नेताहरूको स्टाटसमध्ये सबैभन्दा धेरै लाइक, कमेन्ट र सेयर भएको स्टाटस सम्भवतः यही नै हुुनुपर्छ । तर बालेनले ६ दिनअघि सरकारलाई लक्षित गर्दै लेखेको यो स्टाटसको मिति आज गुज्रिँदै छ । अर्थात् मंगलबार १२ बजेभित्र संघीय सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएर बुधबारसम्म कर्मचारीको तलब निकासा भइसक्नुपर्ने छ । तर त्यस्तो सम्भावना १ प्रतिशत पनि देखिएको छैन । किनकि प्रधानमन्त्री केपी ओली आजै थाइल्यान्डको चार दिने भ्रमणमा निस्केका छन् । शनिबार मात्र ओली स्वदेश फर्किने भएकाले त्यसबेलासम्म काठमाडौं महानगरपालिकाले प्रशासकीय अधिकृत पाउने एकरति सम्भावना छैन ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता कालीप्रसाद पराजुलीले शनिबारसम्म काठमाडौं महानगरपालिकाले प्रशासकीय अधिकृत नपाउने बताए । काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाई बिदामा बसेकाले उनको ठाउँमा अर्को प्रशासकीय अधिकृत पठाउन कानुनतः मिल्दैन । संघ सरकारले पठाएमा भोलि सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित छ । सोही कारण सरकारले पहल नै नगरेको हो ।


महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । कानुनी व्यवस्थाअनुसार आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग रहने भएकाले नयाँ अधिकृत नआएसम्म तलब भुक्तानीलगायतका प्रक्रिया रोकिन पुगेको हो । यसले करिब चार हजार कर्मचारी, सरकारी विद्यालयका शिक्षक, सरसफाइ कर्मचारी तथा श्रम बैंकका श्रमिकहरू प्रभावित भएका छन् । ठेकेदार भुक्तानी, भौतिक पूर्वाधार निर्माण र सडक मर्मतजस्ता कार्यहरू पनि प्रभावित भएका छन् ।


पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा विवादपछि मेयर बालेन साहले छानबिन समिति गठन गरेसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ बिदामा बसेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले सम्हालेका थिए । तर, मेयर बालेन थाइल्यान्ड भ्रमणमा रहेका बेला शर्माले पनि राजीनामा दिएपछि महानगर प्रशासकीय अधिकृतविहीन बनेको हो । तर बालेनले यसको सबै दोष सरकारलाई दिँदै आएका छन् ।

बालेन मेयरमा निर्वाचित भएको तीन वर्षमा चारजना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । बालेनले केमेस्ट्री नमिलेपछि प्रशासकीय अधिकृत काठमाडौं महानगरपालिका जान डराएको देखिन्छ ।


त्यसैले ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्न र बस्न पाएँ भन्दैमा थ्याच्च बस्न नहुने’ लोकोक्ति चर्चित भएको होइन । मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा बालेनको सोही स्टाटस उत्खनन गरिरहेका छन् । अब बालेनले कसकसलाई टुकुचामा गाड्ने हुन् भन्दै चासोपूर्वक हेरिरहेका छन् ।