काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा सुरु आन्दोलनको पहिलो दिन बुधबार र्माइतीघरबाट नयाँ बानेश्वरतर्फ हजारौंको जुलुस अघि बढेको छ ।
यसपटक जसरी भए पनि आफ्नो माग पूरा गराएरै छाड्ने उदघोष शिक्षकहरूले गरेका छन् । यसका लागि देशैभरबाट शिक्षकहरु काठमाडौ आउनेक्रम जारी छ । आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार र्यालीमा ५० हजार शिक्षक कर्मचारी सहभागी हुने अनुमान छ ।
गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको आन्दोलन हिंसात्मक बने पनि आफूहरुको आन्दोलन शान्तिपूर्ण बनाउन करिब आठ सय स्वयंसेवक परिचालन गरिएको महासंघले दाबी गरेको छ । डेढ वर्षअघि सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पुनः आन्दोलित बनेका हुन् । सहमतिअनुसार ऐन जारी भए तत्काल आन्दोलन स्थगित गर्ने उनीहरुको प्रतिबद्धता छ ।
शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले असोज ५ गते ६ बुँदे सहमति गरेको थियो । तर आफूहरुको माग सम्बोधन हुने गरी तयार विधेयक संसदको शिक्षा समितिमा थन्क्याइएको दाबीसहित शिक्षकहरुले दबाबमूलक कार्यक्रम थालेको बताएका छन् । संसदको हिउँदे अधिवेशनमा पनि शिक्षा विधेयक पारित हुन सकेन । प्रतिनिधिसभाको शिक्षा समितिमा विधेयक छलफलका क्रममा छ । शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले सरकारकै कारण शिक्षा विधेयक अघि नबढेको आरोप लगाएका छन् ।
Enter
प्रतिक्रिया