दुर्गा प्रसाईलाई खोज्नबाट पछि हट्यो सिआइबी, विशेष ब्यूरोलाई जिम्मा


काठमाडौं । चैत १५ गते तीनकुनेमा ताण्डव मच्चाएर एकाएक अलप बनाएका राजावादी जनप्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईंको खोजीको जिम्मा अब प्रहरीको विशेष ब्यूरोले लिएको छ । पाँच दिनसम्म प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रसाईलाई पक्राउ गर्न असफल भएपछि विशेष ब्यूरोलाई जिम्मेवारी सुम्पिएको हो । विशेष ब्युरोको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरिरहेका छन् ।

सिआइबी र अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नखोजेको होइन । तर पनि प्रसाईको सुइँको पाउन सकेनन् । प्रहरीले प्रसाईं नेपालभित्रै भए पनि भारत जाने हल्ला फैलाइएको हुनसक्ने बताएको छ । तर धेरैले प्रसाईं नेपालबाहिर रहेको अनुमान गरेका छन् । फेसबुकमा भिडियो सन्देश छाड्दा मन्दिरको अगाडिपट्टि बसेर बोल्दा प्रसाईले लगाएको रातो सर्ट भारतीय कपडा रहेको पनि बताउन थालिएको छ । अहिले सीसीटीभी फुटेज र इलेक्ट्रोनिक उपकरणका आधारमा अनुसन्धान भइरहेको छ । प्रहरीले प्रसाईंको खोजीका लागि नयाँ रणनीति अपनाएको छ ।

इमाडोलमा विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको निवास जाँदा र त्यहाँबाट बाहिरिँदाको सिसिटिभी फुटेज संकलन गर्दै प्रसाईको खोजी भइरहेको विशेष ब्यूरोका एक प्रहरीले बताए । प्रसाईले फेसबुकमार्फत जारी गरेको भिडियोमा गल्ती भएको भन्दै प्रहरीसँग माफी मागेका छन् । यसले पनि अब कुनै पनि हालतमा आफू उम्किन नसक्ने भन्ने उनलाई लागेको देखिन्छ । चैत १५ गते दिनभरि कोटेश्वरस्थित महादेव मन्दिर नजिकमा सटरभित्र बाहिर निस्केर स्कार्पिओ चढ्ने बेला प्रसाईको अनुहार निकै मलिन देखिन्थ्यो । उनी निकै डराएका देखिन्थे ।

त्यसैले पनि प्रहरीलाई गुमराहमा पार्न र आफू लुकेको ठाउँसम्म आउन नसकोस् भन्दै उनले सामाजिक सञ्जालमार्फत बेलाबेलामा भिडियो हाल्दै आएका छन् । तर प्रहरीले प्रसाईले कहाँबाट भिडियो अपलोड गरेको हो भन्ने पत्ता लगाउन सकेको छैन । प्रहरीले राप्रपाका नेता रवीन्द्र मिश्र, धवलसमशेर राणासहित ६० जनाभन्दा बढीलाई पक्राउ गरे पनि प्रसाईं भने फरार छन् । सामाजिक सञ्जाल प्रयोगकर्तादेखि विभिन्न राजनीतिक दलका मानिसले प्रसाईलाई सरकारले भाग्न सहयोग गरेको आरोप लगाउँदै आएका छन् ।