काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार ६८औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका सहकारी शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि मेयर उपेन्द्र कार्की थिए । कार्यक्रमको अतिथिमा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सहकारी शाखा प्रमुख विश्वास ज्ञवाली, विभिन्न सहकारी अभियन्ता, कलाकारद्वय रामचन्द्र अधिकारी र सीपी पुडासैनी धतुरे बालगायत थिए ।
सहकारी दिवस कार्यक्रममा नगरपालिका तथा राष्ट्रिय सहकारी बोर्डबाट आएका गरी करिब पाँच सयको उपस्थिति रहेको थियो । सो अवसरमा सहकारी ठगीसम्बन्धी जनचेतनामूलक लघुचलचित्र ‘बचत’ प्रिमियर गरिएको छ । मातापिता प्रोडक्सन हाउसले निर्माण गरेको लघुचलचित्रको लेखन र निर्देशकमा सीपी पुडासैनी छन् ।
लघुचलचित्र ‘बचत’ मा सबै सहकारी खराब छैनन्, राम्रा पनि छन् भन्ने मुख्य सन्देश देखाउन खोजिएको कलाकार तथा निर्देशक पुडासैनीले बताए । ‘बचत’ लाई आगामी दिनमा चलचित्रकै रुपमा विकास गर्ने सल्लाह भएको छ र चाँडै दर्शकले हलमा देख्न पाउने उनको भनाइ छ । नगर प्रमुख कार्की र उपप्रमुख थापाले लघुचलचित्र ‘बचत’ ले रचनात्मक सन्देशमूलक दिन खोजेको बताए । पछिल्लो समय सहकारीमा विकृति मात्र छैनन्, राम्रा पक्ष पनि रहेको भन्दै सहकारीलाई शुद्धीकरण आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया