काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनमा गोली हानेको र अत्यधिक बल प्रयोग गरेको विषयमा स्पष्टीकरण दिएको छ । प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको बुधबार पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको जिकिर गरे । ‘सबै उत्तेजित भिडका कारण घटेको घटना हो । अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो,’ डीआईजी आचार्यले भने । राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो ।
पत्रकार सुरेश रजकको आगोमा जलेर र कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो । त्यस्तै प्रहरीले प्रहार गरेको गोली लागेर रुविना खत्री घाइते छिन् । उनको हाल सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनावश्यक बल प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल र मिडियाले प्रहरीको आलोचना गरिरहेका छन् ।
तीनकुने घटनामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको गम्भीर चुक भएको सुरक्षाविज्ञहरुले बताएका छन् । प्रहरीले राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको छ । गोली लाग्नेमध्ये दुई महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन् ।
आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयो । टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए । सुरुदेखि नै राजावादीको आन्दोलन अराजक बन्दै गएको थियो । त्यसमा पनि आन्दोलनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईले आफैंले गाडी चलाएर भीड र सुरक्षाकर्मी किच्दै सुरक्षा घेरा तोडेर अगाडि बढेपछि तीनकुने घटना भएको थियो ।
प्रतिक्रिया