यस्तो छ ‘आउटलः दफा २१९’को हिन्दी ट्रेलर रिलिज



‘आउटलः दफा २१९’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आएको यो फिल्म अहिले पनि नेपाली हलमा चलिरहेको छ । यसैबिच, यसको निर्माणपक्षले अब भारतमा फिल्म रिलिज गर्ने तयारी थालेको छ ।

फिल्मलाई भारतका हलमा नै रिलिज गर्ने वा ओटिटी प्लेटफर्ममा रिलिज गर्ने बिषयमा अहिले नै तय नभएको निर्माता अमित अग्रहरिले जानकारी दिए । फिल्मको हिन्दी भर्सनमा ‘केजीएफ’ जस्तो चर्चित दक्षिण भारतीय फिल्ममा आवाज दिने कलाकारहरुले स्वर भरेका छन् । फिल्मको हिन्दी ट्रेलरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया आइरहेको छ ।

फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले नेपाली दर्शकहरुमाझ पनि राम्रो छाप छाडेको थियो । अझै पनि हलमा चलिरहेको यो फिल्मको एक्सन पाटोलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।

नेपालमा राम्रो प्रतिक्रिया पाएपछि विदेशी बजारमा पनि यो फिल्मको माग राम्रो देखिएको छ । फिल्म यूरोप, बेलायत, अष्ट्रेलिया, अमेरिका, जापान, कतार, दुबई लगायतका देशमा रिलिज हुँदैछ ।

साहिल खानको सम्पादन रहेको यो फिल्ममा चुल्ठे काजीको एक्सन, नविन गुरुङको डीओपी छ । नेपाली बक्स अफिसमा पनि राम्रो कमाई गरेको फिल्मको दोस्रो भागको घोषणा समेत निर्माताले गरिसकेका छन् ।