रेडक्रसका अध्यक्षसहित पाँचजना निलम्बनमा, नेपालको घोर बेइज्जत


काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँचजनालाई निलम्बन गरेको छ । आइएफआरसीले अध्यक्ष नेपालसहित उपाध्यक्ष विशाल भण्डारी, विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमल्सिनालाई निलम्बन गरेको हो।

उनीहरूमाथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांतहरु परिपालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएकोसहित कारण देखाउँदै निलम्बन गरिएको आइएफआरसीले जनाएको छ । आइएफआरसीको यो कदमले नेपालको घोर बेइज्जत भएको छ ।

त्यसै त नेपाल भ्रष्टाचार गर्ने मुलुकको शीर्ष वरीयतामा पर्छ । सम्पत्ति शुद्धीकरण हुन नसकेको भन्दै नेपाल ग्रे लिस्टमा परेको छ । केही समयअघि मात्रै रेडक्रस सोसाइटीमा भएको अनियमितताबारे छानबिन गर्न गठित समितिले जग्गादेखि सेवा खरिदसम्म आर्थिक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

सरकारले रेडक्रसमा भएको नीतिगत तथा आर्थिक अनियमितताबारे छानबिन गर्न समाज कल्याण परिषद्का बोर्ड सदस्य सञ्जयकुमार साह नेतृत्वको पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले रेडक्रसले भक्तपुरको जग्गा खरिदमा दुई करोड नौ लाख ५८ हजार रुपैयाँ संस्थालाई हानी पुर्‍याई अनियमितता गरेको निष्कर्ष निकाल्दै संलग्न अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

छानबिन समितिले रेडक्रसले घर भाडा तथा गोदाम घरको प्रयोजनका लागि विभिन्न १३ किसिमका उपकरण आपूर्ति तथा खरिद गर्दासमेत व्यापक भ्रष्ट्राचार भएको प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै तीन वर्षदेखि टेन्डर नगरी रेडक्रसका जिल्ला शाखाहरूबाट ब्लड ब्याग सापटीका रूपमा लिने, तिनै ब्लड ब्याग खरिद गरेको भन्दै रकम भुक्तानी गरी व्यापक अनियमितता गरेको भन्दै खरिद प्रक्रियालाई तत्काल बन्द गरी कानुन बमोजिमको प्रक्रिया केन्द्रीय कार्यालयबाट नै गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । ब्लड बैंकहरुमा रगतको गुणस्तरमा गम्भीर समस्या देखिएको समेत प्रतिवेदनमा औँल्याइएको छ ।