यसरी प्रशासकीय अधिकृत गुरागाईलाई महानगर भित्र्याइयो, बालेन हेरेको हेर्‍यै


काठमाडौं । अन्ततः साढे तीन महिनापछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा उपस्थित भएका छन् । मेयर बालेन्द्र शाह बालेनबाहेक सबै जनप्रतिनिधि र कर्मचारीले गुरागाईलाई बिहीबार महानगरमा स्वागत गरेका हुन् । पुरानो बसपार्कस्थित काठमाडौं टावरको भवन निर्माणका क्रममा माथिल्ले तल्लाको मापदण्डविपरीत स्वीकृति दिएको आरोप लगाएर बालेनले छानबिन गरेपछि प्रशासकीय अधिकृत गुरागाई बिदामा बसेका थिए ।

साढे तीन महिनासम्म प्रशासकीय अधिकृत नहुँदा मेयरसहित कर्मचारीहरूले तलब पाउन सकेका थिएनन् भने विकासका काममा भुक्तानीसमेत रोकिएको थियो । बालेनले भने पटकपटक गुरागाईको ठाउँमा प्रशासकीय अधिकृत पठाइदिन भन्दै संघीय सरकारलाई ताकेता गर्दै आएका थिए ।

बालेनले गुरागाईमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै आन्तरिक छानबिन गरे पनि प्रतिवेदनमा उनको संलग्नता नदेखिएपछि उपमेयर सुनिता डंगोलसहित सबै वडाध्यक्ष गुरागाईलाई महानगर फिर्ता बोलाउन चाहन्थे । सोहीअनुसार बिहीबार गुरागाईलाई बोलाइएको थियो । गुरागाईलाई महानगरमा स्वागत गर्र्ने तयारीपछि बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई अवरोध गर्न निर्देशन दिएका थिए ।

पाण्डेले पनि एक ट्रक नगर प्रहरी महानगरको ढोका राखेर प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा ह्विल लंक लगाइदिएका थिए । यद्यपि जनप्रतिनिधि र कर्मचारीको जोरजर्बस्तीअघि पाण्डे निरीह बने । प्रशासकीय अधिकृत र कर्मचारीलाई छेक्ने महानगर प्रहरीमाथि कार्यपालिका बैठकबाट कारवाही गराउने चेतावनीसमेत कर्मचारीले दिएपछि पाण्डे ब्याक भएका हुन् । कर्मचारीहरुले ३५ सय कर्मचारीको समस्या समाधानमा मेयरले बेवास्ता गरेको बताएका छन् ।

गुरागाईलाई कार्यालयमा स्वागत गरेपछि अहिले उपमेयर सुनिता डंगोल, प्रशासकीय अधिकृत गुरागाई र वडाध्यक्षहरुको बैठक बसिरहेको छ । महानगरमा फिर्ता भए पनि गुरागाईले भने हाजिर गर्न पाएनन् । बालेनको घर्रामा हाजिरी कापी भएकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईले हाजिर गर्न भने पाएनन् । प्रशासकीय अधिकृत गुरागाई महानगर फिर्ती भएपछि बाहिर रहेका बालेन कार्यालय आउने क्रममा रहेको उनको सचिवालयले जनाएको छ । आफ्नो अनिच्छा र अवरोधका बीच पनि प्रशासकीय अधिकृत गुरागाईलाई फिर्ता बोलाएपछि बालेन असन्तुष्ट बनेका छन् ।