प्रशासकीय अधिकृत गुरागाईलाई स्वागत गर्ने कर्मचारीलाई कारबाही गर्ने बालेनको तयारी


काठमाडौं । काठमाडौं मेयर बालेन्द्र शाह बालेनको सचिवालयले अनियमिततामा संदिग्ध देखिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालयमा हाजिर गर्न लगाउने कर्मचारीदेखि सबैलाई कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृतलाई भित्र्याएपछि बालेनको सचिवालय रुष्ट देखिएको छ ।

सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत कारबाही हुने चेतावनी दिएकोे छ । ‘भोलि गुरागाईमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईंलाई स्वागत गर्न जो जो कर्मचारीहरु अघि सरेका छन्, उनीहरुलाई पनि गुरागाईलाई जतिकै कारबाही हुन्छ ।

भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुईतिहाइको दम्भ हो,’ बालेनका स्वकीय सचिव भुपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टारचारमा संलग्न भएको व्यक्ति आउनु हुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बिहीबार हाजिर हुन भनेको थियो । सोहीअनुसार उनी हाजिर हुन महानगर पुगेका थिए । उनलाई रोक्न नगर प्रहरी तैनाथ थिए । तर कर्मचारी, उपप्रमुख र वडाध्यक्षहरुले नगर प्रहरीको अवरोध तोड्दै गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराए ।

गुरागाईंको कार्यकक्षमा ताला लगाइएको भए पनि कर्मचारीहरुले ताला फुटाएर प्रवेश गरेका थिए । गुरागाईले विद्युतीय र ढड्डामा हाजिर गरेर ३ बजे फर्किए । उनी त्यहाँबाट सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय गएका थिए । स्रोतका अनुसार महानगरमा हाजिर गरेका गुरागाईलाई अब एक दुई दिनमै अन्यत्र सरुवा गरिने भएको छ । एउटा स्थानीय तहमा दुईजना प्रशासकीय अधिकृत पठाउन नमिल्ने भएकाले संघीय सरकार मौन बस्दै आएको थियो । अब संघ सरकारलाई गुरागाईलाई अन्यत्र सरुवा गरेर नयाँ प्रशासकीय अधिकृत पठाउन बाटो खुलेको छ ।