काठमाडौं । माओवादी, एकीकृत समाजवादी, नेसपा र विप्लव नेकपा सम्मिलित समाजवादी मोर्चापछि अब संघीय लोकतान्त्रिक मोर्चा जन्मेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मोर्चा गठन भएको जानकारी दिइयो । संघीय लोकतान्त्रिक मोर्चामा तराई मधेश केन्द्रित साता दल सम्मिलित छ ।
जसमा जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोसपा, तमलोपा, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी छन् । मोर्चामा १९ सांसद छन् । मोर्चाले संविधा संशोधनलाई बटमलाइन बनाएको छ । मोर्चाको नेतृत्वमा कसैलाई पनि तोकिएको छैन । तत्काल गठन गरेकाले छलफलपछि आलोपालो नेतृत्व गर्ने कि कसैलाई मानेर जाने भन्ने टुंगो लाग्नेछ ।
मोर्चामा उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत, रञ्जिता श्रेष्ठ, हृदयेश त्रिपाठी, राजेन्द्र महतो जस्ता नेताहरू छन् । यसैबीच, मोर्चाको भावी नेतृत्वमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दावी गरेका छन् । तराई मधेश केन्द्रित दलमध्ये संसद्को सबैभन्दा ठूलो दलको हैसियतले राउतले दावी गरेका हुन् ।
उनले आलोपालो अध्यक्षता नगरेर मोर्चाको नेतृत्व गर्नैपरेको खण्डमा संसदको सबैभन्दा ठूलो दलको नाताले जनमतले पाउनुपर्ने दावी प्रस्तुत गरेका हुन् । मोर्चाको नेतृत्वलाई बहस चलिरहँदा राउतले ६ दलमध्ये आफ्नो दल ठूलो भएको तथ्यांकसमेत प्रस्तुत गरेका छन् । उनले भनेका छन्, ‘यस मोर्चामा सबैभन्दा ठूलो दल जनमत पार्टी (६) हो । त्यसपछि जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४ं), तमलोपा, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी रहेका छन्, नेतृत्व लिनै परे सबभन्दा ठूलो दल जनमत पार्टी (६) ले लिनेछ ।’
प्रतिक्रिया