सुनिता अघि सरेपछि बालेनको आश्चर्यपूर्ण मौनता


काठमाडौं – आफैंले हटाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई बिहीबार उपप्रमुख सुनित डंगोल, २८ जना वडाध्यक्ष र झन्डै एक सय कर्मचारीले कार्यालयमा भित्र्याएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।

महानगरमा हलचल मच्चिएका बेला बालेन भने काभ्रेको पाँचखाल पुगेका थिए । गुरागाईलाई भित्र्याएको कदमविरुद्ध बालेनका स्वीकय सचिव भूपदेव साहले कडा टिप्पणी गरे पनि आमनागरिक भने बालेनको प्रतिक्रिया कुरेर बसेका छन् । धेरैले बिहीबार मध्यरातिसम्म बालेनको फेसबुक स्टाटस आउने अपेक्षमा थिए । तर शुक्रबार बिहानसम्म पनि नआउँदा आमजनता आश्चर्यमा परेका छन् । किनभने कुनै पनि घटनामा बालेनले तत्काल प्रतिक्रिया जनाउँदै आएका थिए ।

सम्भवतः आज बेलुकासम्म बालेनको प्रतिक्रिया आउने धेरैले अनुमान गरेका छन् । किनभने प्रायः शुक्रबार राति बालेनका स्टाटस आउने गरेका छन् । बालेनले वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीमाथि बलजफ्ती गरेर चलाउन खोजेको भन्दै बिहीबार सबै एकढिक्का भए । त्यसकारण पनि उनी हच्केको देखिन्छ । वडा नम्बर २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा प्रक्रिया पूरा नगरीकन स्वीकृत गरेको भन्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई साढे तीन महिनाअघि निलम्बन गरेका थिए ।

संघ सरकारबाट पठाइएका सहसचिवस्तरका कर्मचारी गुरागाईमाथि छानबिन गर्न समिति गठन गरे । उनले एक न्यायाधीशको नेतृत्वमा समिति गठन गरेका थिए । तर ती न्यायाधीशले बीचमै राजीनामा दिए । त्यसपछि पूर्वसचिव शंकर पाण्डेलाई संयोजक बनाएर समिति गठन गरे । तर पाण्डेलाई मुखुण्डो बनाएर बालेनले आफ्नै सचिवालयमार्फत प्रतिवेदन तयार गरेर फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले यदि प्रतिवेदन गलत भए आफूलाई कारबाही गर्न संघीय सरकारलाई चुनौती पनि दिएका थिए ।

संघीय राजधानीको प्रमुख स्थानीय पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि विकासका काम अवरोध भए । अर्बौंको बजेट सञ्चालन गर्ने महानगरका कर्मचारीले तलब पाउन सकेनन् । मन्त्रालयले गुरागाईलाई नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न दिन भने पनि बालेनले मानेनन् । बरु, महानगरकै कर्मचारीलाई आर्थिक अधिकार दिन माग गरे । तलब नपाएका कर्मचारीहरुले समाधानका लागि पटकपटक बालेनको ध्यानाकर्षण गराए । तर, उनी सम्बन्धित निकायसँग छलफलभन्दा पनि सामाजिक सञ्जालमा ‘स्टण्टबाजी’ देखाउनमै व्यस्त भए ।

सदाझैं सामाजिक सञ्जालबाट आगो ओकले । आफ्नो पदीय मर्यादाको ख्यालसमेत नगरी ‘गाड्दिन्छु’ जस्तो शब्दको प्रयोग गरेर स्ट्याट्स लेखे । गुरागाईलाई कुनै पनि हालतमा नस्वीकार्ने अडान कसेका बालेनको लाखौं प्रयासका बाबजुद महानगरमा गुरागाईको ‘ईन्ट्री’ भएपछि अहिले उनका समर्थक आगो भएका छन् । तर उपमेयर सुनिता डंगोलले नेतृत्व लिएपछि भने बालेन निकै संयमित भएको देखिन्छ ।