काठमाडौं -रुपन्देही ३ बाट दुई वर्षअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राप्रपाका नेता दीपक बोहरा संसदमा एक शब्द नबोलीकनै संसारबाट बिदा भए । ७४ वर्षको उमेरमा मंगलबार उनले ओम हस्पिटलमा अन्तिम श्वास फेरे । पोस्ट कोभिडका कारण साढे दुई वर्षअघिदेखि बोहरालाई घाँटीमा क्यान्सर भएको थियो ।
जसकारण उनी बोल्न सक्दैनथे । डेढ महिनाअघि मात्रै बोहराले छोरीलाई गुमाएका थिए । ४६ वर्षको उमेरमा बोहराकी छोरी चाँदनीको हर्ट अट्याकका कारण मृत्यु भएको थियो । डेढ महिनामै परिवारका दुई सदस्य गुमाउनुपर्दा बोहरा परिवार शोकमा छ । बोहराका दुई श्रीमती, दुई छोरा र एक छोरी हुन् ।
जेठी श्रीमती मञ्जुतर्फबाट गौरव बोहरा पाइलट छन् र कान्छी श्रीमती उन्नतितर्फ छोरा प्रज्ज्वल व्यापारसँगै अहिले राजनीतिमा जोडिएका छन् । बुवा बिरामी भएपछि राप्रपाका कार्यक्रममा उनी सक्रिय हुन थालेका छन् । गत आमनिर्वाचतनमा रुपन्देही–३ मा बोहराले निर्वाचन प्रचारप्रसारका क्रममा कुनै पनि सभा, सम्मेलन वा घरदैलोमा सम्बोधन नगरी आफ्ना सहयोगीमार्फत प्रचार गर्दै र नमस्कारकै भरमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।
जबकि खाँण त्यसबेला गृहमन्त्री थिए । बोहराले ३६,७१७ मत पाए भने खाँण ३४,०३६ मत पाएर पराजित बने । विगतमा राष्ट्रिय पञ्चायतमा पटकपटक निर्वाचित हुँदै सहायक, राज्य र मन्त्रीसम्म र बहुदलीय प्रजातान्त्रिक व्यवस्थासँगै संघीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि पटकपटक निर्वाचित सदस्य र मन्त्री बन्दा सदन र सडकदेखि मन्त्रिपरिषदमा सक्रिय र आक्रामक शैलीमा प्रस्तुत हुने बोहरा पछिल्लो सांसदकालमा भने एक शब्द नबोली बिदा हुनुलाई उनको नियति ठानिएको छ । उनी ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भएका थिए ।
०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका थिए । त्यसपछि विस्तारै उनी राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । उनी ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बने । प्रतिनिधिसभा सदस्यको मृत्यु भएमा, राजीनामा दिएमा वा पार्टीले कारबाही गरेमा उसको सांसद पद रिक्त हुने छ । त्यसैले अब निर्वाचन आयोगले केही दिनमै रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको सूचना जारी गर्नेछ ।
आयोगले उपनिर्वाचनका माध्यमबाट जनप्रतिनिधि निर्वाचित गरेर संसदमा पठाउने छ । बोहराको निधनपछि ६ महिनाभित्र रुपन्देही–३ मा उपनिर्वाचन हुने निश्चित छ । त्यसैले अब दलहरू उपनिर्वाचनका लागि तयारीमा जुटेका छन् । रुपन्देही–३ मा २०७९ को आमनिर्वाचनमा समानुपातिक मतमा कांग्रेस पहिलो नम्बरमा छ । राप्रपालाई मैदान छाडेको एमाले दोस्रो स्थानमा छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ ।
कांग्रेसले २० हजार, एमालेले १६ हजार र रास्वपाले १४ हजार मत पाएका थिए । त्यसैले अबको उपनिर्वाचनमा पनि कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । कांग्रेस, एमाले, रास्वपा तथा राप्रपाले नयाँ अनुहारलाई मौका दिने भएका छन् । राप्रपाले दीपकका छोरा प्रज्ज्वललाई अघि सार्नेगरी तयारी गरिसकेको छ । रुपन्देही–३ मा राप्रपाको समानुपातिक मत नौ हजार मात्र भएकाले चुनाव जित्न निकै सकस हुने देखिन्छ ।
प्रतिक्रिया