तयार हुनुहोस्, नोरासँग झुम्न



गायक सोनु निगमको कन्सर्टमा झुमेका नेपाली दर्शक अब बलिउडकी हट नायिका नोरा फतेहीको डान्समा पनि झुम्ने भएका छन् ।

जेठको ३ गते शनिबार नोराले काठमाडौंको हायात ग्राउण्डमा दर्शक झुमाउने पक्का भएको छ । ‘नोरा फतेही लाइभ इन नेपाल’ नाम दिएको कार्यक्रममा नोराले नेपाली दर्शकलाई झुमाउन लागेकी हुन् । नोरा पहिलो पटक नेपाल आउन लागेकी हुन् ।

वल्र्डवाइड फिल्मस् नेटवर्क प्रा.लिको आयोजनमा हुन लागेको यो कार्यक्रमले शिक्षाबाट बञ्चित बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको ह्युमन रस्पेक्ट नेपाललाई सहयोग गर्नेछ । मनु मिडियाले यो कार्यक्रमको व्यवस्थापन गर्न लागेको हो । नोरासहित २० जना कोरस डान्सर पनि प्रस्तुतिका लागि नेपाल आउने बताइएको छ ।

यो कार्यक्रममा नोरासँगै नेपालका नाम चलेका कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रममा प्रवेशका लागि २ हजार, ४ हजार, ७ हजार र १६ हजार रुपैयाँको टिकट काट्नुपर्नेछ । खल्ती एपबाट दर्शकले आजबाट टिकट काट्न सक्नेछन् । कार्यक्रमका इन्टरनेशनल संयोजक युद्ध बानियाँ हुन् ।

नोराले बलिउडमा ‘दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच’ जस्ता सुपरहिट गीतमा नृत्य गरिसकेकी छिन् ।