कस्तो बन्ला ‘जनै हराएको बाहुन’ ?



भोलिबाट छायांकनमा जान लागेको फिल्म ‘जनै हराएको बाहुन’को टिमले आज शुभसाइत गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा आज पूजा गर्दै फिल्मकोे आज शुभसाइत गरिएको हो ।

शुभसाइत समारोहमा नायिका मिरुना मगर, कलाकारहरु सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा लगायत पुगेका थिए । फिल्मको मुख्य भूमिकामा विजय बराल छन् । शुभसाइत समारोहमा भने उनी उपस्थित भएनन् ।

निर्माण टिमका अनुसार, भोलिबाट काभ्रेपलान्चोकको पनौतीमा फिल्म खिचिनेछ । यसपछि, पाल्पा र काठमाडौंमा पनि फिल्म खिच्ने तयारी गरिएको छ । यो फिल्मले गाउँदेखि शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेको अनपेक्षित घटना र त्यसले उसको जीवनमा ल्याउने परिवर्तनको कथा भन्नेछ ।

फिल्मले आमा र छोराबिचको भावनात्मक कथा भन्ने निर्माणपक्षले बताएको छ ।

हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको यो फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् । भानुभक्त ढकालले यो फिल्मको कथा, पटकथा र संवाद लेखेका हुन् । विमल न्यौपाने फिल्मका निर्माता हुन् ।

थानेश्वर गौतम र एसडी योगीको संगीत रहने फिल्मलाई ४० दिनसम्म खिचिनेछ । नविन गुरुङ फिल्मका छायांकार हुन् ।