बक्स अफिसमा किन कमजोर देखियो ‘वसन्त’ ?



फिल्म ‘परदेशी २ र पूर्ण बहादुरको सारंगी’को व्यापारले हौसिएका गायक तथा नायक प्रकाश सपुतलाई ‘वसन्त’ फिल्मको व्यापारले झट्का दिएको छ ।

रिलिजको पाँचौ दिनसम्म आइपूग्दा पनि दर्शकको उपस्थिती हलमा ज्यादै नै न्यून छ । फिल्मको व्यापार वुटवल र नेपालगञ्जमा अन्य शहरको भन्दा सुखद छ । तर, यो फिल्मलाई दुई शहरको व्यापारले मात्र पुग्दैन । काठमाडौं, भक्तपुर र ललितपुरमा फिल्मको व्यापार निकै कमजोर देखियो ।

प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मले व्यापार गर्न नसक्नुको पछाडि विभिन्न खालका टिप्पणी भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेको भन्दै चर्को आलोचना भोगेका सपुतको फिल्म बहिष्कारको अभियान नै चलेको थियो । अधिकांशले फिल्म बहिष्कारको चपेटामा परेको उल्लेख गरेका छन् ।

कतिपयले भने फिल्मले उठाएको विषयवस्तुमा दर्शकको रुची नभएको तर्क समेत गरेका छन् । सपुतले बारम्बार जातको कुरा उठाएको भन्दै आलोचना पनि भइरहेको छ । यहीकारणले पनि फिल्मप्रति दर्शकको रुची नभएको तर्क गरिएको छ ।

फिल्मको बिषयवस्तु पनि यसपटक शक्तिशाली आउन सकेन । यसको असर बक्स अफिसमा देखिएको छ । समग्रमा फिल्म ‘वसन्त’को व्यापारले गायकबाट नायक हुँदै निर्देशक बनेका सपुतको करिअरमा झट्का लागेको छ ।

उनका आगामी फिल्मको व्यापार के हुने हो भन्ने प्रश्न पनि उठेको छ । फिल्ममा सपुतको साथमा नायिका स्वस्तिमा खड्का पनि छिन् । स्वस्तिमाको क्रेज र स्टारडम पनि बजारमा नदेखिएको चर्चा फिल्म वृत्तमा चल्न थालेको छ ।