‘वसन्त’ वहिष्कारको चपेटामा परेपछि दीपकराजको तर्क



नायक तथा निर्देशक प्रकाश सपुतको फिल्म ‘वहिष्कार’को चपेटमा पर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि गायक सपुतको चर्को आलोचना भयो । उनको फिल्म नै नहेर्ने भन्दै सामाजिक संजालमा बहिष्कारको लहर नै चल्यो । जसको असर अहिले बक्स अफिसमा देखिएको छ ।

फिल्मले रिलिजको पाँचौ दिनसम्म आइपुग्दा पनि दर्शक हलसम्म तान्न सकेको छैन । फिल्म बहिष्कारको चपेटामा परेपछि कलाकार दीपकराज गिरीले सामाजिक संजालमा लेखेका छन्–‘प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनियो । मानै तारिफको सट्टा गाली गरेको भए ? अर्को पक्षले बहिष्कार भन्थ्यो होला । यसको अर्थ समाज क्रुरता तर्फ ।’

दीपकले एउटाको तारिफ गर्दा अर्को रिसाउने, अर्कोको आलोचना गर्दा अर्को रिसाउने परिपाटीले फिल्म क्षेत्रलाई फाइदा नगर्ने तर्फ संकेत गरेका छन् । उनले, समाज क्रुरतातिर गएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘वसन्त’को व्यापार निकै कमजोर छ । यसको पछाडि अधिकांशले प्रधानमन्त्री ओलीको प्रकाशले तारिफ गर्नुलाई लिएका छन् ।