आफूलाई आलोचना गर्नेको मुख थुन्दै मिनबहादुर प्रहरीको गोलीबाट मृत्यु भएका सविनकी श्रीमतीलाई भाटभटेनीमा दिए जागिर


काठमाडौं – भाटभटेनी डिपार्टमेन्टका अध्यक्ष मीनबहादुर गुरुङ यतिबेला आफूलाई आलोचनाको मुख थुन्ने अभियानमा लागेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाममा ल्याएर विवादमा तानिएका गुरुङ तीन महिनाभन्दा बढी जेलसमेत परेका थिए । देशभरि भाटभटेनीको चेन विस्तार गरेका गुरुङ एमालेको पार्टी कार्यालय भवन बनाइदिने विषयले अझ विवादमा तानिएका थिए ।

एमालेलाई प्रिपेड घुसमार्फत जग्गा दान गरेको र भवनसमेत बनाइदिन लागेको भनेर उनको आलोचना भएको थियो । तर सर्वोच्च अदालतले समेत उनले एमालेको पार्टी कार्यालय बनाइदिने घोषणालाई अनुमोदन गरेपछि विवाद मत्थर भएको थियो ।

पैसाकै बलमा राजनीतिक शक्ति प्रयोग गरेको भन्ने ट्याग लागेका मिनबहादुर गत चैत १५ गते राजावादीको प्रदर्शनमा भाटभटेनी तोडफोड र लुटपाट भएपछि मिडियालाई दिएको अभिव्यक्तिले थप विवादमा तानिएका थिए । उनले राजावादी आन्दोलनका बेला भाटभटेनीमा ७५ करोड नोक्सान भएको टिप्पणी गरेका थिए । तर भोलिपल्टै भाटभटेनीले ७५ देखि ८० लाख रुपैयाँ बराबरको क्षति भएको पुष्टि गरेपछि उनले आफ्नो टङ स्लिप भएको भने सच्याएका थिए ।

चौतर्फी आफ्नो आलोचना हुन थालेपछि गुरुङले भाटभटेनीका सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख नगदसहित सम्मान गरेर वाहवाही कमाए । उनले थप कर्मचारीलाई पनि नगदसहित सम्मान गरे । मंगलबार मात्र गुरुङले तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटमा जागिर दिने प्रतिबद्धता जनाएका छन् ।

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेका गुरुङले मंगलबार दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए । गुरुङले भविसालाई भाटभटेनीमा जागिर लगाइदिनेसमेत प्रतिबद्धता जनाए । उनको यो कदम अहिले चर्चामा छ ।