राजावादीहरुले कसैको जिम्मा लिएर काम गरिरहेको एमाले नेता गिरीको आरोप


नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री पदम गिरीले राजवादीहरुको आन्दोलनलाई ‘बेमौसमी वाजा’ को संज्ञा दिएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली जनतालाइ राजा नचाहिएको र त्यो देशको आवश्यकता पनि नरहेको बताएका हुन् । केही मानिसहरुले आफ्नो स्वार्थको रोटी सेक्नका लागि प्रयोजित रुपमा आन्दोलन गरिरहेको उनले बताए । एमाले नेता गिरीले यो आन्दोलन धेरै अगाडि पनि नबढ्ने बताए ।

‘वास्तवमा यो बेमौसमको बाजा हो । नेपाली जनताले धेरै ठूलो लडाइँ लडेर, बलिदानीपूर्ण संघर्ष गरेर, लाखौं जनता सडकमा आएर, नेपालमा राजतन्त्रको औचित्य छैन भनेर राजतन्त्रको विदाइ गरे । अहिले नेपालमा राजतन्त्र चाहिन्छ भनेर दुई÷चार जना मान्छे सल्बलाएका छन् । यो नेपाली जनतालाई राजा र राजतन्त्र चाहिएको पनि होइन । देशको आवश्यकता पनि होइन । केही स्वार्थका रोटीहरु सेक्नका लागि यो प्रायोजित रुपले भित्र्याउन खोजिएको छ । यो कुराको औचित्य छैन । यो आन्दोलन अगाडि बढ्छ भन्ने लाग्दैन,’– उनले भने ।

नेपालमा राजतन्त्र चाहिन्छ भन्ने कुराको औचित्य पुष्टि गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्टि गर्न नसक्ने उनको दाबी छ । नागरिकलाई रैती बनाउनुपर्छ भन्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने उनले बताए । ‘नागरिकहरुलाई एक प्रकारले मुर्ख बनाउने, नागरिकहरुलाई स्वतन्त्र, सार्वभौम नागरिकको रुपमा होइन कि दास, रैती बनाउनुपर्छ भनेजस्तो उहाँहरुको भनाइहरु आएका छन् । यो कसैलाई स्वीकार्य हुने कुरा होइन । यो फगतको कुरा हो । त्यही पनि कसैबाट उहाँहरुले के पाउनु भएको छ, अथवा, कसैको काम जिम्मा लिएर त्यो पूरा गर्ने हिसाबले उहाँहरु सडकमा नाँच्नुभएको हो । यसको धेरै लामो आयु छ, यो आन्दोलनको भविष्य छ भन्ने चाहीँ मलाई लाग्दैन,’– उनले भने ।