काठमाडौं – केही दिनअघि धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले प्रधानमन्त्री केपी ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटे । त्यसअघि पनि उनी धरानबाट रित्तो गाग्री लिएर काठमाडौं आएका थिए । सिंहदरबारस्थित गेटमा उनलाई सुरक्षाकर्मीले रित्तो गाग्री लिएर भित्र पस्न दिएन । केही बेर गलफत्तीपछि उनी प्रधानमन्त्री ओलीलाई नभेटी धरान फर्किए । धरान फर्केर फेरि उनी आफ्नै काममा लागे ।
संघीय सरकारले धरानको खानेपानीको समस्यामा ध्यान नदिएको भन्दै स्टाटस लेखिरहे । तर हालै उनले प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा सौहार्दपूर्ण तवरले भेटघाट गरे । प्रधानमन्त्री ओलीले पनि मेयर राईसँग धरानको खानेपानीको समस्या समाधानमा विभिन्न विषयमा कुराकानी भएको जानकारी दिए । सधैं प्रधानमन्त्री ओलीको उछितो काढ्दै आएका हर्कले यसपटक ओलीलाई भेटेर कुराकानी गरिसकेपछि भेटघाटबारे सार्वजनिक गरे ।
स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका राई अहिले प्रधानमन्त्रीसँग कन्फर्टेसन होइन, मिलेर गएमा स्थानीय सरकारका समस्या समाधानमा धेरै सहयोग हुने निष्कर्षमा पुगेका छन् । तर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेन भने तीन वर्षदेखि सरकार प्रमुखसँग सिंगौरी खेलेर बसेका छन् । संघीय सरकारविरुद्ध निरन्तर सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका बालेनले प्रधानमन्त्री पदको मर्यादा बिर्र्सदै गएको देखिन्छ ।
किनभने उनी प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा देखा नै पर्दैनन् । जबकि देशको संघीय राजधानी काठमाडौं महानगरमै पर्छ । तर मेयर भने संघीय सरकार प्रमुखसँग जुध्नमै व्यस्त देखिन्छन् । नौ महिनाअघि प्रधानमन्त्री बनेका ओलीसँग बालेनले एकपटक पनि औपचारिक भेटघाट गरेका छैनन् ।
बरु सामाजिक सञ्जालमै उनले बेलबेला चेतावनी दिँदै आएका छन् । यसले पनि बालेनको क्रियाकलापप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको एमाले नेताहरुको भनाइ छ । प्रधानमन्त्री पद स्थायी हुन्न । बालेन मेयरमा निर्वाचित भइसकेपछि मुलुकले ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई प्रधानमन्त्री पायो ।
विगतमा देउवा र प्रचण्ड प्रधानमन्त्री हुँदा बालेनले एक–दुईपटक भेटेका पनि हुन् । तर ओली प्रधानमन्त्री भएयता उनी सिंहदरबार र बालुवाटार जानै छाडेका छन् । काठमाडौं महानगरको प्रमुख समस्या भनेकै संघीय सरकार भएको बालेनको आरोप देखिन्छ ।
तर संघीय सरकारसँग कन्फर्टेसन नगरी समन्वय भएर काम गर्ने हो भने स्थानीय सरकारका अधिकांश समस्या समाधान मात्र हुने होइन कि जनताले पनि सेवासुविधा सहजै प्राप्त हुन्छन् । तर बालेनको सोचाइ ठीक विपरीत देखिन्छ । संघ सरकारले एकाध कुरा सुनेन भनेर उनले भाष्य नै गलत निर्माण गरेका छन् ।
पछिल्लोपटक काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै उनले संघीय सरकारप्रति निशाना साँधे । चार महिनासम्म काठमाडौं महानगरका कर्मचारी र जनप्रतिनिधि तथा शिक्षकले समेत तलब पाउन सकेनन् । उनले नै निलम्बन गरेका प्रशासकीय अधिकृत सरोज गुरागाईलाई साढे तीन महिनापछि फिर्ता ल्याइयो । र, अहिले सबैले चार महिनादेखि रोकिएको तलब, भत्ता, सुविधा एकमुष्ट पाएका छन् ।
पुस महिनादेखि महानगरका १७ सयभन्दा बढी शिक्षक र चार हजारभन्दा बढी कर्मचारी तथा जनप्रतिनिधिले तलब पाएका थिएनन् । मेयर बालेन साहले कारबाही गरेपछि महानगरमा प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण आर्थिक निकासा ठप्प भएको थियो ।
प्रतिक्रिया