काठमाडौं – नेपालका मन्त्रीहरू कतिसम्म लोसे र अल्छी छन् भन्ने उदाहरण गृहमन्त्री रमेश लेखक बनेका छन् । चैत १५ गते राजावादीले गरेको प्रदर्शनमा तीनकुने, कोटेश्वर र जडिबुटीमा व्यापक जनधनको क्षति भयो ।
दुईजना निहत्था नागरिक मारिए । घटना भएको १३ दिनपछि मात्र गृहमन्त्री प्रहरीको गोली लागेर घाइते भएका नागरिक भेट्न अस्पताल जाँदैछन् । त्यो पनि मिडियामा समाचार आएपछि बाध्य भएर । गृहमन्त्री लेखकले चैत १६ गते नै तीनकुने, कोटेश्व र जडीबुटी क्षेत्रको अवलोकन गरेका थिए । तर घाइते भएका आन्दोलनकारीलाई भेटेका थिएनन् ।
राज्यले पनि उनीहरूलाई इग्नोर गर्दै आएको थियो । यद्यपि राजावादी आन्दोलनका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर अहिले विभिन्न निजी अस्पतालमा उपचाररत घाइतेले आफ्नै गोजीबाट खर्च गरिरहेका छन् । गृहमन्त्री लेखकले सुरुमा नयाँ बानेश्वरको सिभिल हस्पिटल पुगेर घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिने उनको निजी सचिवालयले जनाएको छ ।
‘माननीय गृहमन्त्री रमेश लेखकज्यू आज ४ बजे चैत १५ गते भएको राजावादी आन्दोलनका घाइतेहरुलाई भेट्न काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जानुहुँदै,’ लेखकका स्वकीय सचिव जनक भट्टले भनेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले पनि राष्ट्रिय ट्रमा सेन्टर दुई, निजामती (सिभिल) अस्पताल एक, बीएन्डबी अस्पताल एक र काठमाडौं मेडिकल कलेजमा एक घाइतेको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा १२९ जना घाइते भएकामा १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । कतिजनाले के–के उपचार गराए, कति खर्च हुँदै छ भन्ने आधिकारिक विवरण भने मन्त्रालयसँग छैन ।
प्रतिक्रिया