संघीयता टाउकोले टेकेर उभिएको छः गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संघीयता टाउकोले टेकेर उभिएको टिप्पणी गरेका छन् । आज (बुधबार) रूपन्देहीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले संघीयता टाउकोले टेकेर उभिएको र यसलाई खुट्टाले टेकेर उभिएको बनाउने चुनौति आफूहरुमाझ रहेको बताएका हुन् ।

जनतामाझ जाँदै गर्दा निर्वाचन प्रणाली, जनप्रतिनिधिहरुको संख्या र संघीयताको बारेमा प्रश्न उठाउने गरेको महामन्त्री थापाले बताए । उनले नेपालले संघीयता ठीक ढंगले चलाउन नसकेको बताए । उनले भने, ‘हामी यो व्यवस्थालाई ठीक बनाउन चाहन्छौं । हामीले जनतासँग कुराकानी गर्दा निर्वाचन प्रणाली, जनप्रतिनिधिको संख्या असाध्यै धेरै भयो । संघीयता नेपालमा ठीक छ । तर, ठीक ढंगले चलाउन जानेनौं । संघीयता अहिले टाउकोले टेकेर उभिएको छ । यसलाई खुटटले टेकेर उभिने बनाउनुछ,’– उनले भने ।

साथै, वर्तमान सरकारले पनि गतिमा काम गर्न नसकेको उनले बताए । महामन्त्री थापाले जनताको पक्षमा काम गर्न (बिँड) आफूहरु तातेपनि ताप्के (सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री) नतातेकको टिप्पणी गरे । उनले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र मन्त्रीहरु घुमफिरमा लागेको बताए ।