निर्माताले आफ्नै सिनेमाको लाखौंको टिकट काट्नु मार्केटिङ प्लान, विनोदले खोले राज


काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रले विदेशी सिनेमालाई विस्थापित गर्दै लगेको छ । चलचित्र विकास बोर्डको २०८१ को तथ्यांकअनुसार नेपाली सिनेमाले वर्षभरिमा झन्डै साढे दुईको व्यापार गरे । तर हिन्दी फिल्मले मात्र ८६ करोडको कमाइ गरे । हलिउड फिल्म खासै चलेनन् भन्दा पनि हुन्छ । यो वर्ष सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमा ‘पूर्णबहादुरको सारंगी’ रह्यो ।

चलचित्रले नेपालमा मात्रै ४६ करोडको व्यापार गरेको विकास बोर्डले जनाएको छ । त्यसपछि ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘बोक्सीको घर’ लगायत रहे । तर नेपाली चलचित्र कसरी हिट भइरहेका छन् भन्ने पोल निर्माता विनोद पौडेलले खोलिदिएका छन् । पौडेल ‘पूर्णबहादुरको सारंगी’ का निर्माता हुन् ।

पौडेलले पछिल्लो समय निर्माताले नै हलमा टिकट किन्ने गरेको रहस्य खोलेका छन् । आफ्नो चलचित्र रिलिज हुँदा हलमा निर्माताले नै टिकट किन्ने गरेको उनले स्पष्ट पारेका मात्र छैनन्, यसलाई सिनेमा मार्केटिङ प्लानसमेत भनेका छन् । पौडेलले आफूले पनि ‘पूर्णबहादुरको सारंगी’ रिलिज गर्दा टिकट किनेको उनको भनाइ छ ।

‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २० देखि २५ लाखको त टिकट किन्नै पर्छ,’ पौडेल फेसबुकमा लेख्छन्, ‘१०–१२ लाखको त हामीले पनि किनेकै हो ।’ अहिले चलचित्रको टिकट निर्माता स्वयंले काट्नु मार्केटिङको योजनाअन्तर्गत नै पर्ने गरेको उनको दाबी छ । ‘अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो,’ उनी भन्छन् ।

पौडेलले हाल चलचित्र ‘अभिमन्यु’ निर्माण गरिरहेका छन् । पौडेलकै जस्तो दाबी बलिउडमा पनि हुने गरेको छ । दुई वर्षअघि हिन्दी फिल्म ‘जवान’ का निर्माताले पनि लाखौं टिकट किनेको र यसलाई कर्पोरेट मार्केटिङको दाबी गरिएको थियो ।