आन्दोलनको नवौं दिन शिक्षक र प्रहरीबीच बानेश्वरमा लफडा


काठमाडौं – नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलन नवौँ दिन पनि जारी छ । वर्षाको प्रवाह नगरी शिक्षकहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लेका छन् । तर आज भने आन्दोलनरत शिक्षक र प्रहरीबीच लफडा भएको छ ।

बिजुलीबजार–नयाँ बानेश्वर सडकखण्डको तीनवटै लेन कब्जा गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको हो । यसअघि प्रहरीले दायाँबायाँका दुई लेनलाई सवारी साधनको लागि खुल्ला गरेर बिचको लेन बन्द गरेको थियो, जहाँ शिक्षकहरुले प्रदर्शन गर्दै आएका थिए । बिहीबार भने प्रदर्शनकारीले पूरै सडक कब्जा गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको र त्यसक्रममा धकेलाधकेल भएको हो ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित चैत २० गतेदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । अहिलेसम्म देशभरका सामुदायिक विद्यालयबाट आलोपालो गरी झण्डै दुई लाख शिक्षक आन्दोलनमा सहभागी भएको बताइएको छ ।

सरकारले पटक पटक वार्तामा बोलाउँदा पनि नगएका शिक्षकहरुले माग सम्बोधन हुने अवस्थामा मात्र सिंहदरबार छिर्ने खबर पठाएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको र माध्यमिक शिक्षा परीक्षाको कापी जाँच्नु पर्ने भएकाले सरकारले फेरि पत्र पठाएर वार्ता आह्वानको तयारी गरेको छ । त्यसैले बिहीबार साँझसम्म वार्ता हुनसक्ने बताइएको छ ।