राज र सनिषाको प्रेमिल जोडीले ‘नरसिंहाः अवतार’ बारे के बताउँदैछ ?



आखिर, एक्सनप्रधान भनिएको फिल्म ‘नरसिंहाः अवतार’मा नायक राज कटुवाल र नायिका सनिषा भट्टराई त रोमान्टिक देखिए त ? नायक राजेश हमालको कमब्याक फिल्ममा राज र सनिषाको जोडीले भन्न के खोजेको होला ?

सार्वजनिक नयाँ दुई पोस्टरले राज र सनिषा फिल्ममा रोमान्टिक देखिएका छन् भन्ने बताउँछ । यसले, यो फिल्म एक्सन र सामाजिक कथावस्तुसँगै प्रेमले पनि भरिएको छ भन्ने वुझाउँछ । जेठको ९ गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।

चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो फिल्मबाट उदाउने दाउमा छन् । फिल्ममा उनले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन् ।

यो फिल्मका लागि राजले निकै मिहिनेत गरेको वुझिएको छ । यो फिल्मका लागि राजले एक्सन समेत सिकेका थिए । ‘१२ गाउँ’को व्यापारबाट दंग सनिषा अब ‘नरसिंहाः अवतार’मा झनै बुलन्द रुपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

फिल्ममा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

यो पोस्टरले राज र सनिषाका जोडी हेर्नका लागि दर्शकहरुलाई उत्साह थप्ने विश्वास गर्न सकिन्छ ।