काठमाडौं । तीनकुने हिंसात्मक घटनाका मुख्य आरोपी दुर्गा प्रसाईविरुद्ध राज्यविरुद्धको कसुरदेखि ज्यान मुद्दासमेत लगाइने भएको छ । बिहीबार राति भारतको असममा फेला परेका प्रसाईलाई शुक्रबार बिहान झापाको चन्द्रगढीमा पक्राउ गरिएको थियो । सुपुर्दगी सन्धि नभएकाले नेपाल प्रहरीले भारतमा पक्राउ गर्न नमिल्ने भएकाले उनलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर शुक्रबार नेपालको सीमामा ल्याएर छाडेपछि प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई काठमाडौं ल्याएर अदालतमा म्याद थपका लागि पेस गरिने भएको छ । अदालतले म्याद थप गरेपछि प्रहरीले न्यायिक हिरासतमा राखेर उनीविरुद्ध अनुसन्धान गर्ने भएको छ । अनुसन्धान प्रतिवेदन तयार गरेपछि मात्रै प्रसाईविरुद्ध अदालतमा मुद्दा दायर हुनेछ । चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक बनाएर प्रसाई फरार भएका थिए । प्रहरीले १४ दिनपछि मुख्य आरोपीलाई समातेको हो । आफ्नै आँखा अगाडिबाट प्रसाई फरार भएपछि प्रहरी नै आलोचित भएको थियो ।
सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले मिश्र र राणाविरुद्ध पनि राज्यविरुद्धको कसुर र उपद्रवमा अनुसन्धान गरिरहेको छ । तर प्रसाईलाई भने ज्यान मुद्दासमेत लगाउने भएको छ । उनलाई आन्दोलनको जनकमान्डर तोकिएको थियो । आन्दोलनलाई हिंसात्मक बनाई दुईजनाको मृत्यु हुनुमा प्रसाईलाई नै मुख्य कारक मानी प्रहरीले अदालतमा मुद्दा दर्ता गर्ने भएको हो ।
राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर र जडिबुटीमा लुटपाट, तोडफोड र आगजनी गरिएको थियो । घटनामा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका थिए । प्रसाईले प्रहरीले सडकमा राखेको ब्यारिकेड तोडेर अगाडि नबढेको भए सो दिन हिंसात्मक घटना हुने थिएन ।
तर उनले नै प्रदर्शनकारीलाई आऊ आऊ भन्दै उत्तेजना बनाएपछि हिंसा भड्केको थियो । प्रसाईविरुद्ध साइबर अपराधको आरोपमा समेत छानबिन भइरहेको छ । यसका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट आठ अर्बभन्दा बढी कर्जा लिएर नतिरेको भन्दै उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दासमेत आकर्षित हुने प्रहरीले स्रोतले बतायो । एकपछि अर्को आपराधिक घटनामा मुछिएका प्रसाईविरुद्ध राज्यविरुद्धको कसुर र ज्यान मुद्दा पुष्टि हुने कानुनविद्हरू बताउँछन् ।
प्रतिक्रिया