काठमाडौं । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले चैत १५ को तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजालाई संसदमा बोलाउने प्रस्ताव गरेका हुन् ।
कांग्रेस सांसद जीवन परियारले भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं । उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’ परियारलाई अन्य सांसदले पनि साथ दिए ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुईजनाको ज्यान गएको थियो । व्यक्तिगत सम्पत्ति, डिपार्टमेन्ट स्टोर, पार्टी कार्यालय, सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । तर सांसदहरूको यो तर्कलाई लिएर आलोचना हुन थालेको छ । पूर्वराजालाई कुन हैसियतमा केका लागि समितिमा बोलाउने ? भन्दै सस्तो स्टन्टबाजीका लागि यस्तो अभिव्यक्ति दिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।
जबकि तीनकुने घटनाका मुख्य दोषी दुर्गा प्रसाई रहेको भन्दै प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पूर्वराजाको आन्दोलनमा प्रत्यक्ष संलग्नता पनि देखिएको छैन । प्रसाईले गरेका अपराधको छानविन र तहकिकात गरी दण्ड सजाय तोक्ने निकाय संसद् र संसदीय समिति पनि होइन । प्रहरी र अदालतले यो घटनाको न्यायिक निरुपण गर्ने हो ।
तर सांसदहरू कुन प्रयोजनका लागि कसलाई संसदीय समितिमा बोलाउने भन्नेसमेत भुल्न थालेका छन् । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको सन्देश र दुर्गा प्रसाईलाई आन्दोलनको कमान्डर तोक्ने पूर्वराजाको हर्कत कारबाहीयोग्य भए पनि संसदीय समितिलाई सोधपुछ गर्ने अधिकार भने हुँदैन ।
प्रतिक्रिया