‘बलिदान र हरि बहादुरको जुत्ता’ले मिलेर फिल्म रिलिज गर्ने



यो वर्षको दशैंमा फिल्म ‘१२ गाउँ र छक्का पन्जा ५’ एकसाथ रिलिज हुँदा ठूलै लफडा भयो । सामाजिक संजालमा गालीगलौज पनि निकै चल्यो । यहीकारणले गर्दा आउँदो वर्षको दशैंमा एकसाथ रिलिजमा आउन लागेका फिल्महरुविच कस्तो अवस्था आउला भन्ने चासो पनि छ ।

यही कुरा वुझेर हुनसक्छ, फिल्म ‘बलिदान र हरि बहादुरको जुत्ता’का निर्माताहरु एकसाथ आएका छन् । यी दुवै फिल्म दशैंको फूलपातिबाट रिलिजमा आउँदैछन् ।

दुई फिल्मका निर्माताहरुले आपसी छलफल गर्दै सौहार्दपूर्ण वातावरणमा एक अर्कालाई सहयोग गर्दै फिल्म रिलिज गर्ने बताएका छन् ।

फिल्म ‘बलिदान’का निर्देशक सन्तोष सेन, सह–निर्माता प्रेम पुरीले ‘हरि बहादुरको जुत्ता’का निर्माता सरोज ओली र कलाकार हरिवंश आचार्यसँग भेट गरेका हुन् ।

दुवै फिल्मका निर्माताले सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र मिलेर फिल्म रिलिज गर्ने बिषयमा छलफल भएको बताएका छन् ।

यी दुवै फिल्म आउँदो वर्षका लागि प्रतिक्षित छन् । ‘बलिदान’मा नायक समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता रायको मुख्य भूमिका छ । यता, ‘हरि बहादुरको जुत्ता’मा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।