पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्व लिन तयार


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वमा आउने आफ्नो चाहना नभए पनि सबैले आग्रह गरे त्यसका लागि तयार भएको सन्देश दिएकी छन् । आइतबार नेपालखबरका पत्रकार सीताराम बरालसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले दुई वर्षे कुलिङ पिरियड सकिएको र राजनीतिमा फर्किने कुरालाई स्वीकार गरिन् ।

पत्रकार बरालले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किसकेकाले तपाई पनि त्यसका लागि इच्छुक हुनुहुन्छ कि भनेर सोधेका थिए । भण्डारीले आफू अहिले पनि पार्टीभित्रैबाट नेतृत्व लिन सक्ने व्यक्ति आउनुपर्ने मान्यतामा रहेको बताउँदै, तर कोही भएन र राष्ट्रिय रूपमा आग्रह भएमा त्यसका लागि जिम्मेवारी लिन तयार भएको बताइन् ।

भण्डारीको कुराले उनलाई एमाले नेतृत्वमा आउन पार्टी पंक्तिबाट निकै दबाब आइरहेको संकेत गर्छ । उनले आफूले एमालेका तल्ला तहका नेता कार्यकर्तासँग पनि कुराकानी गरिरहेको तथ्य खुलाइन् ।

पछिल्लो समय एमालेमा केपी ओलीपछि पार्टीको नेतृत्वमा भण्डारीलाई देख्न चाहनेको संख्या बढ्दै गएको छ । तर ११औं महाधिवेशन कि १२औं महाधिवेशनमा भन्ने अहिलेसम्म खुलेको छैन । केही समयअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र भण्डारीबीच लामो छलफल भएको थियो ।

बालुवाटारमा भएको वार्तामा चार वर्षपछि पार्टी अध्यक्ष र त्यसपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर भण्डारीले त्यति लामो समय नकुर्ने जवाफ दिएको एमाले नेताहरुको भनाइ छ ।