पूर्वराजा शाहले दिए नयाँ वर्षको शुभकामना सन्देश, वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को शुभकामना सन्देश दिँदै वर्तमान शासन व्यवस्थाप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरुकता पैदा भएको भन्दै अहिलेकै अवस्थामा देश अघि नबढ्ने चेतावनी पनि दिए ।

उनले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्तसमेत गरेका छन् । ‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्त राख्न पाउनु प्रजातन्त्रको सुन्दर व्यवस्था हो ।

तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ,’ शाहले भने, ‘केही दिन अगाडि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी तोडफोड भयो । मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अन्त्यन्त दुख लाग्यो । नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र हुँदैन ।’ पूर्वराजा शाहले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुनेसमेत बताएका छन् ।

चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुईजनाले ज्यान गुमाएका थिए । तीनकुने घटनामा पूर्वराजा शाहको प्रत्यक्ष निर्देशन रहेको भन्दै उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बहस चलिरहेको छ । यही बेला पूर्वराजा शाहले अहिलेको शासन व्यवस्थाप्रति नै असन्तुष्टि व्यक्त गरेका हुन् । पूर्वराजा शाहले कमान्डर तोकेका दुर्गा प्रसाईकै कारण तीनकुने हिंसात्मक घटना भएको थियो । जसमा ५० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।