नयाँ वर्षमा नयाँ सोच


नयाँ वर्ष २०८२ आजबाट प्रारम्भ भएको छ । अघिल्लो वर्ष २०८१ नेपालका लागि मात्र होइन, विश्वकै लागि चुनौतीको वर्ष रह्यो । नयाँ वर्षको सुरुवातसँगै नेपालमा पनि राजनीतिक घटनाक्रमले उथलपुथल ल्यायो ।

एमाले–माओवादी गठबन्धनको सरकार ढलेर कांग्रेस–एमालेको सरकार बन्यो । यतिबेला देशमा दुई ठूला दलको समीकरणमा बनेको शक्तिशाली सरकार छ । तर जनताका अपेक्षा र चाहना जहाँको तहीँ छ ।

सोही कारण यतिबेला सडक तातेको छ । शक्तिशाली सरकार बन्दा पनि जनताका अपेक्षा पूरा नहुनु सामान्य विषय होइन । रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनलगायतले विश्वकै राजनीति र अर्थनीतिमा व्यापक फेरबदल ल्याएको छ । त्यसबाट नेपालको राजनीति र अर्थ व्यवस्था अछुतो रहने कुरै भएन ।

तीन चार वर्षसम्मको कोरोना महामारीले थिलथिलो भएको विश्वको अर्थतन्त्र तंग्रिन नपाउँदै रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्धले प्रायः धेरै मुलुक प्रभावित बनेका छन् । हाम्रो जस्तो सानो मुलुक पनि त्यसकै नियतिबाट गुज्रिनु परिरहेको छ । यी सबै अवस्थालाई सही ढंगले डोहो¥याएर लैजान सक्ने राजनीतिक खुबी भएको नेतृत्व नेपालमा देखिएको छैन ।

वर्षका अन्तिमतिर राज्य व्यवस्था नै उल्ट्याउँछु भनेर लागेको एउटा समूहले राजधानीमै ताण्डव प्रदर्शन गर्नु सामान्य होइन । यसको दूरगामी असर पर्ने देखिन्छ । ठूला भनिएका राजनीतिक दलप्रति आक्रोश र घृणा बढ्दै जाँदा नयाँ भनिएका दल र नेता पनि सम्झनयोग्य नभएकाले नेपालमा मास फ्रस्टेसनको अवस्था देखिएको छ ।

जुन विकासशील देशका लागि घातक सिद्ध हुने खतरा छ । यस्तो अवस्थामा राज्यको चौथो अंग मानिएको मिडियाको सुझबुझपूर्ण प्रस्तुति महत्वपूर्ण हुन्छ । मिडियाले दिने समाचार, लेख, अन्तर्वार्ता विश्वसनीय हुनुपर्छ । तर पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव र विस्तारले मिडियालाई समेत ठूलौ चुनौती दिएको छ ।

त्यसैले त्यो चुनौतीलाई अवसरका रूपमा प्रस्तुत गर्ने गरी सन्तुलित ढंगले समाचार दिने प्रयास हाम्रो रहनेछ । हामीले उत्पादन गर्ने समाचार, अन्तर्वार्ता, विचारमा विगतको भन्दा फरक ल्याउने प्रतिबद्धता नयाँ वर्षको पहिलो दिन व्यक्त गर्दछौं । सबैलाई नयाँ वर्ष २०८२ को शुभकामना ।