विपिनको ‘पहाड’ कात्तिक ७ बाट रिलिज हुने



तुलसी घिमिरेको कमब्याक निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई तिहारको भोलिपल्ट अर्थात कात्तिकको ७ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएको पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई फिल्ममा चित्रण गरिएको निर्माणपक्षले बताएको छ ।

‘नेपालसँगै अन्तरराष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै हाम्रो बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर डेट तय गरेका हौं । फिल्मको विषयवस्तु पारिवारिक भएकाले पनि स–परिवारले हलमा गएर फिल्म हेर्न सक्नुहुन्छ ।’ निर्देशक घिमिरेले भने ।

नेपालको गोरखामा ३६ दिन छायांकन भएको यो फिल्म वैशाखमा १० दिन भारतमा खिचिनेछ । ओजस्वी केसी निर्माता रहेको यो फिल्मलाई प्रमोद प्रधानले खिचेका हुन् ।

भाग्यरत्न फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भइरहेको यो फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रविन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य, पञ्चमी घिमिरे लगायतको अभिनय छ । फिल्ममा रञ्जित गजमेरको संगीत, भारती घिमिरे क्रियटिभ निर्देशक, रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता छन् ।

फिल्मलाई लिएर निर्देशक घिमिरे महत्वकांक्षी देखिएका छन् ।