काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेकै समय कांग्रेस महामन्त्री गगन थापाले ओली सरकारको विकल्प नखोजेको बताएका छन् । पछिल्लो समय सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका थापाले सरकारले सोचेअनुरुप काम भने गर्न नसकेको बताएका छन् ।
अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको उनको भनाइ छ । ‘पार्टी सरकारमा गएको छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ,’ मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘जहाँ समस्या सिर्जना भएको छ तत्काल समाधान गर्नुपर्छ ।’
थापाले अहिले पनि कांग्रेसको नेता कुनै ठाउँमा उभिँदा जनताले भरोसा गर्नुपर्ने अवस्था देखिनुपर्नेमा त्यस्तो नभएको बताए । ‘कांग्रेसले देशलाई भरोसा दिन सक्छ कि सक्दैन ? जे जति गुनासा छन् सम्हाल्छौं भनेर भन्न सक्नुपर्छ । कांग्रेसको नेता उभिँदा जनताले भरोसा गर्नुपर्छ,’ उनले भने ।
यही गठबन्धनबाटै काम गर्नुपर्ने बताउँदै थापाले गति ठिक नभएको बताए । ‘सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ । गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन ।
सुरुको चरणमा जोतिएर काम गरेको पनि हुँ । देशमा दैनिक माहोल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने थियो । कता कता जोश र उत्साह नेतृत्वबाट भएन । हामी कसरी चिर्ने भन्ने अलमलमा छौं । कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौँ,’ थापाले भने । पछिल्लो समय कांग्रेसमा डा.शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसीलगायतले सरकारको कार्यशैलीप्रति आलोचना गर्दा माओवादी अध्यक्ष प्रचण्डले खेल्ने ठाउँ पाएका थिए ।
सोही कारण उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन भनेर ब्ल्यांक चेक बोकेर बुढानिलकण्ठ जाने बताएका थिए । एमालेको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पनि कांग्रेसमा केही नेता असन्तुष्ट भए पनि सभापति देउवा भने यताउता नभएको निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया