पूर्वयुवराज्ञी हिमानी देखेर दंग मनिषा कोइराला, पूर्वराजपरिवारका सदस्यसँग बसउठ बाक्लो बन्दै (तस्बिरहरू)


काठमाडौं । पछिल्लो केही समययता अभिनेत्री मनिषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच हार्दिक सम्बन्ध छ । दुवैजना घुमघाममा निस्कनेदेखि निर्मल निवास वा हिमानी ट्रस्टले गरेका कार्यक्रममा समेत मनिषा देखिने गरेकी छन् ।

सामाजिक सञ्जालदेखि मिडियामा समेत मनिषाले हिमानीको सुन्दरता र बौद्धिकताको खुलेर तारिफ गर्ने गरेकी छन् । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाकी नातिनी मनिषाको निर्मल निवाससँगको बाक्लो बसउठलाई धेरैले मन पराएका छैनन् । तर पनि मनिषा अहिले नेपालमा राजसंस्था पुनःस्थापित गर्नुपर्छ भन्ने आन्दोलनमा सरिक हुँदै आएकी छन् ।

नयाँ वर्षको दिन सोमबार मनिषाले सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजपरिवारसँगको धेरै तस्बिर पोस्ट गरेकी छन् । जसमा उनी पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्वयुवराज्ञी हिमानी तथा हिमानी ट्रस्टका पदाधिकारीसँगको तस्बिर सेयर गर्दै मनिषाले नयाँ वर्ष २०८२ को शुभकामना दिएकी छन् ।

हिमानी ट्रस्टले २०८२ मा गर्ने सामाजिक सेवाका काम र त्यसका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा खिचिएका तस्बिर मनिषाले सामाजिक सञ्जालमा राखेकी हुन् । जसमध्ये हिमानीलाई हेरेर मनिषा मुस्कुराएको एउटा तस्बिर निकै चर्चामा छ ।

उमेरले ५० वर्ष लागेकी हिमानी र ५५ प्लस उमेरकी मनिषाको तस्बिरलाई हेरेर धेरैले तारिफ गरेका छन् । तर केहीले भने मनिषाले बिपी कोइरालाको विरासत निर्मल निवासमा लगेर सुम्पिएको भन्दै आलोचना पनि गरेका छन् । तेसै गरि अहिले  उद्योग वाणिज्य महासङ्घकी पुर्व अध्यक्ष भवानी  राणा पनि सार्वजनिक कार्यक्रमहरुमा देखिन थालेकी छिन् ।