काठमाडौं – सरकार फेरिने चर्चाका बीच प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार गठन हुने घोषणा गरेपछि राजनीति तरंगित भइरहेका बेला मंगलबार ओली र देउवाबीच बालुवाटारमा छलफल भएको हो ।
ओली र देउवाको निजी सचिवालयले दुई नेताबीत नियमित भेटघाटका रूपमा मंगलबार पनि छलफल भएको जनाएको छ । मंगलबार बिहान देउवाले शिक्षा ऐन जारी हुनुपर्ने मागसहित १४ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरू बुढानिलकण्ठमा छलफल गरेका थिए । छलफलमा विभिन्न जिल्लाका शिक्षकका अध्यक्ष सहभागी थिए ।
देउवाले शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग कुराकानी भएको र आजै प्रधानमन्त्री ओलीलाई भेटेर छलफल गर्ने आश्वासन दिएका थिए । लगत्तै बालुवाटारमा ओली र देउवाबीच छलफल भएको हो । कांग्रेस नेताहरूका अनुसार दुई नेताबीच शिक्षकका माग सम्बोधन र सरकार सञ्चालानका लागि गठित राजनीतिक संयन्त्रको बैठक बोलाउन सहमति भएको छ ।
सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल कांग्रेसकै महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित नेताले आलोचना गर्न थालेपछि दुई शीर्ष नेताबीच आज छलफल भएको हो । छलफलमा सरकारका कामकारबाही तथा सत्तागठबन्धनको विषयबारे कुरा भएको नेताहरूले बताएका छन् ।
दुवै बीच करिब एक घन्टा कुराकानी भएको थियो । सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा तथा शेखर कोइरालाले सरकारको आलोचना गरे पनि देउवा भने वर्तमान गठबन्धप्रति नै प्रतिबद्ध रहेको ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया