कांग्रेस नेताहरू भड्किन थालेपछि आज उच्चस्तरीय संयन्त्रको बैठक


काठमाडौं । सत्तारुढ कांग्रेस नेताहरु भड्किन थालेपछि प्रधानमन्त्री केपी ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन् । सत्ता साझेदार दल कांग्रेसकै महामन्त्री गगन थापालगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला बुधबार साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

दुई नेताबीच सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । साथै, उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने निर्णय पनि भएको थियो । एमाले केन्द्रीय सचिवालय बैठकमा पनि संयन्त्रको बैठकमा कांग्रेस नेताहरूलाई आफ्ना कुरा राख्न दिने सहमति भएको थियो ।

उच्चस्तरीय संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । कांग्रेस नेताहरुले भने प्रधानमन्त्री केपी ओली एकमना सरकार सञ्चालनको ढंगले हिँडेपछि गठबन्धनमा खटपट देखिएको बताउन थालेका छन् ।

सरकार पनि चलाउने, सडक पनि तताउने एमालेको चरित्रकै कारण कांग्रेसमा असन्तुष्टि बढेको स्रोतले बतायो । राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, सडकमा देखिएका विभिन्न समूहको आन्दोलन र सरकारको कार्यशैलीका विषयमा कांग्रेस नेताहरूबाट कडा ढंगले टीकाटिप्पणी गर्न थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ । सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र गठन भए पनि प्रधानमन्त्री ओलीले अहिलेसम्म बैठक राखेका थिएनन् ।