काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलन ‘निर्णायक मोडमा’ आइपुगेको भन्दै थप शिक्षक तथा कर्मचारीहरुलाई काठमाडौं बोलाएको छ । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छोडेर विद्यालय फर्किन आग्रह गरेपनि शिक्षक तथा कर्मचारीहरुले भने आन्दोलन थप चर्काउने तयारी गरेका हुन् ।
‘अब हामी निर्णायक मोडमा आइपुगेका छौं । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।
सरकारले शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेपनि आन्दोलनकारी शिक्षक सरकारप्रति विश्वस्त देखिएका छैनन् । अध्यक्ष सुवेदी भन्छन्, ‘हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ ।’
शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने उनले प्रष्ट पारेका छन् । त्यसका लागि उनले शिक्षकलाई आन्दोलनमा सक्रिय सहभागीताका लागि काठमाडौंमा केन्द्रित हुन आह्वान गरेका छन् ।
‘आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं अध्यक्ष सुवेदीले भने, यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । त्यसैले देशभरका सबै साथीहरु तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।’
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ । विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक गतिविधि पनि प्रभावित भएको छ । उनीहरुले १२ कक्षाको परीक्षा पनि संचालन नगर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया