काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरूद्ध बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएको छ । नाबालिगमाथि जबर्जस्तीकरणीको केसमा कालिमाटी महिला सेलले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राजेश तीन चार दिनदेखि सम्पर्कविहीन छन् । नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोपउपर अनुसन्धान गरिरहेको बताइन्छ ।
अघिल्लोपटक केपी ओली प्रधानमन्त्री हुँदा राजेश अहिराजलाई मधेश प्रदेश प्रमुख नियुक्त गरिएको थियो । मधेशवादका विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति भएको भन्दै उनले आफ्नो प्रचार गर्दै आएका थिए । पत्रकारसमेत रहेका अहिराजलाई टपक्क टिपेर प्रदेश प्रमुख बनाइएपछि एमालेमा ओलीको आलोचना भएको थियो ।
अहिराजमाथि निकै पुरानो यौन प्रकरण अहिले बाहिर आएको हो । मधेशवाणी साप्ताहिक चलाउँदै आएका अहिराज मधेश आन्दोलनमा पनि लागेका थिए । उनले त्यसबेला आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी भएको भन्दै चिनाउने गर्थे । काठमाडौं महानगरपालिका–१० मा उनले धोबीखोला किनारको सरकारी जग्गा मिचेर घर विस्तार गरेका थिए । केही समयअघि मात्रै उनले विस्तार गरेको टहरा महानगरले डोजर लगाएर भत्काइदिएको थियो ।
प्रतिक्रिया