काठमाडौं । समयमै भ्रातृसंस्थाको महाधिवेशन गराउन असफल बन्दै आएको कांग्रेस सभापति शेरबहादुर देउवालाई अर्को संकट आइलागेको छ । संस्थापन निकट नेपाल महिला संघकी अध्यक्ष उमा राउत मिश्रको रवैयाकै कारण डा.शेखर कोइराला पक्षका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । संगठन अस्तव्यस्त बनेको भन्दै विवाद मिलाउन गरेको आग्रह नेतृत्वले नसुनेपछि बुधवार संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा।अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा।सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् । यसअघि उनीहरूले चारबुँदे माग राख्दै पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए ।
उनीहरूले चैत २१ गते पार्टी सभापति देउवालाई सम्बोधन गर्दै ‘नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ भन्ने ज्ञापन पत्र’ बुझाएका थिए । पत्रमा महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै चारबुँदे माग राखेका थिए ।
‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाइ र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं,’ राजीनामा पत्रमा लेखिएको छ । कांग्रेसले चैत मसान्तसम्म महाधिवेशन गर्ने गरी सम्पूर्ण भ्रातृसंस्थालाई निर्देशन दिए पनि अझै सात भ्रातृसंस्थाले महाधिवेशन गर्न सकेका छैनन् ।
प्रतिक्रिया