समाचार टिप्पणी
२०८१ असार १७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बुढानिलकण्ठमा सात बुँदे सहमति हुँदा प्रधानमन्त्री थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । एमाले, माओवादी, रास्वपा गठबन्धनको सरकार थियो । सत्तारुढ दल भए पनि एमाले अध्यक्ष ओली नयाँ समीकरण बनाउने गरी कांग्रेस सभापति देउवासँग भेट गर्न गएका थिए । ओलीसहित कांग्रेसबाट आरजु राणा देउवा र रमेश लेखक तथा एमालेबाट महासचिव शंकर पोखरेल थिए ।
एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्नुअघिसम्म प्रचण्डले संसद् र बाहिर ठूलो दललाई घुर्काउँदै आएका थिए । संसदमै पनि उनले कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन चुनौती दिएका थिए । कहिले कांग्रेसलाई घुर्काएर एमालेसँग मिल्ने त कहिले एमालेलाई छाडेर कांग्रेससँग टाँसिएर सधैं सत्तामै बस्दै आएका प्रचण्ड १० महिनायता भने ठूलो तनावमा छन् । कारण, एमाले र कांग्रेसबीच सहमति हुँदा अन्त्यमा लेखिएको २०८४ को आमनिर्वाचनमा माओवादीसँग तालमेल नगर्ने बुँदा । प्रचण्डलाई यही विषयले धेरै पिरोलेको देखिन्छ । त्यही भएर ओली प्रधानमन्त्री भएको दिनदेखि उनले सरकार अहिल्यै ढल्छ, भरे नै ढल्छ भन्न छाडेका छैनन् ।
एउटा भनाइ नै छ, आधा युद्ध मनोवैज्ञानिक रूपमा जित्न सकिन्छ । अहिले प्रचण्डले सरकार ढल्दैछ भनेर जुन अस्त्र फालेका छन्, त्यही मनोवैज्ञानिक दबाब दिन हो भन्ने जोसुकैले सजिलै बुझ्न सक्छन् । किनभने सत्तामा हुँदा र नहुँदाको भिन्नता प्रचण्डले मात्र बुझेका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ को संविधानसभा निर्वाचनपछि माओवादी १७ वर्षसम्म निरन्तर सत्तामा रहँदै आएको थियो । तर यतिबेला भने ऊ प्रदेश र केन्द्र दुवैको सत्तामा छैन । त्यही भएर अझै तीन वर्ष सत्ता बाहिरै रहँदा भोग्नुपर्ने चुनौती र कठिनाइको आकलन गर्दै प्रचण्डले ‘यो सरकार धेरै दिन टिक्दैन, ढल्छ’, ‘यो सरकार चाँडै ढल्छ’, ‘नयाँ वर्षमा नयाँ सरकार गठन हुन्छ’, ‘कांग्रेसकै साथीहरूले यो सरकार टिक्दैन भनेका छन्’ भन्न छाडेका छैनन् ।
प्रधानमन्त्रीको कुर्सीमा बस्दासमेत प्रचण्डले आफू बाँचुञ्जेल उथलपुथल ल्याउने अभिव्यक्ति दिएका थिए । त्यो पनि सार्वजनिक कार्यक्रममा । सार्वजनिक कार्यक्रममै प्रचण्डले यसरी चुनौती दिएपछि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच सघन भेटवार्ता भई नयाँ समीकरण बन्ने सहमति भएको थियो । जसमा सुरुको २२ महिना केपी ओली र त्यसपछि आमनिर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने लिखित सहमति छ । जसअनुसार अबको १० महिना ओली प्रधानमन्त्रीमै रहने र त्यसपछि उनले देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्नेछन् । अहिलेसम्मको परिस्थिति हेर्दा सरकार सुरक्षित नै देखिन्छ । किनभने केही ससाना विषयमा आपसी समझदारी गरेर गए भने तत्कालका लागि देखिएको सत्ता संकट टर्नेछ ।
ओली सरकार मजबुत हुँदै जाँदा सबैभन्दा ठूलो चुनौती प्रचण्डले बेहोर्नुपर्ने स्थिति देखापर्दैछ । नेताहरूका अनुसार अहिले एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई धेरै नचिढ्याउने र प्रचण्डलाई एक्ल्याउने रणनीति अख्तियार गरेको छ । हालै मात्र प्रचण्डले कांग्रेस सभापति देउवालाई भेट्न चाहेको सन्देश पठाउँदा उनले ‘तपाईसँग मिल्दा ओलीलाई नभेटेको र ओलीसँग मिलिरहँदा तपाईसँग भेट्न सक्दिनँ’ भन्ने जवाफ पठाएको । देउवाको यो जवाफलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । कतै प्रचण्डले अब ‘फेरि कम्युनिस्ट शक्ति एक ठाउँमा बसौं’ भनेर प्रस्ताव गर्ने त होइनन् ? भन्ने आशंका पनि कायमै छ ।
केही दिनअघि मात्र प्रचण्डले यस्तो अभिव्यक्ति दिइसकेका छन् । उनले एकपटक वामपन्थी एकता टुट्दै फेरि नमिल्ने होइन भनेर भाषण गरिसकेका छन् । तर पनि ओलीको देशबाट माओवादी शक्तिलाई कमजोर बनाउने रणनीतिका कारण प्रचण्डले तत्कालका लागि खेल्ने ठाउँ निकै कम रहेको नेताहरूको विश्लेषण छ । तर पनि प्रचण्डले ओली सरकार ढलेर नयाँ बन्छ भन्न छाडेका छैनन् । कतिसम्म भने उनले सबैभन्दा ठूलो कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।
प्रतिक्रिया